चलचित्र ‘के घर के डेरा’मा अभिनेत्री सुरक्षा पन्त भित्रिएकी छन् । उनीसँग शुक्रवार निर्माण टिमले कागजी सम्झौता गरेको हो । सुरक्षा भित्रिएसँगै चलचित्रमा कलाकारको लाइनअप पूरा भएको छ ।
‘के घर के डेरा’ लाई दिपेन्द्र के खनालले निर्देशन गर्ने छन् । दुई वर्ष अगाडि निर्माण घोषणा भएको चलचित्रलाई यसअघि सुव्रतराज आचार्यले गर्ने भनिएको थियो । सामाजिक विषयवस्तुमा बन्ने चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र विपिन कार्की, वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईको अभिनय रहनेछ । चलचित्रको बैशाख २२ गतेबाट छायांकन सुरु हुने बताईएको छ । ३५ दिनको सेड्युलमा चलचित्रको काठमाडौंमा मात्र छायांकन हुने छ ।
ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापा ‘स्माइल’को संगीत तथा गायन, डिपी खनालको गीत, उदयराज पौडेलको एरेञ्ज, गम्भिर बिस्टको कोरियोग्राफी रहनेछ । चलचित्रको कथा सिंगो लामाको हो भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा बन्न लागेको चलचित्रलाई जिजिए ग्रुप (करण श्रेष्ठ) ले वितरण गर्नेछ ।