निर्देशक ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चुरीफुरी’ले शुक्रबारबाट कलाकार छनोट कार्य सुरु गरेको छ । शुक्रबार भएको पहिलो चरणको अडिसनमा दुई सयभन्दा बढी नयाँ अनुहारले सहभागिता जनाएको निर्देशक आचार्यले बताए ।
अडिसनमार्फत् ‘चुरीफुरी’ का लागि प्रमुख अभिनेता, अभिनेत्री र केही सह-कलाकार छनोट गरिने उनको भनाई छ । पहिलो चरणको अडिसनमा केही कलाकार छनोट गरिएको छ । पहिलो चरणको अडिसन शुक्रबार आरबि मुभीजको कार्यालय, चक्रपथमा सम्पन्न भयो । स्क्रिप्टले नयाँ अनुहार माग गरेकाले अडिसन गरेर कलाकार छनौटको प्रक्रिया सुरु गरिएको जानकारी निर्देशक आचार्यले दिए ।
केही दिनमा हुने दोश्रो चरणको अडिसनपछि चलचित्रका लागि सम्पूर्ण कलाकार छनोट हुने विश्वास आचार्यको छ । विदेशमा रहेका इच्छुक प्रतिभाले भिडियो क्लिप्सबाट अडिसन दिन सक्ने व्यबस्था मिलाइएको छ । पहिलो चरणको अडिसनमा निर्देशक ऋषिराज र संचारकर्मी तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी निर्णायकको रुपमा थिए । मंसिर तेश्रो साताबाट चलचित्रको छायांकन सुरु हुनेछ ।
चलचित्रबारे जानकारी दिँदै उनले भने, ‘चलचित्रको कथावस्तुमा निकै मेहेनत गरेका छौं । त्यसलाई पर्दामा उतार्न कुनै कसर छाड्ने छैनौ ।’ आरबी मुभीजको ब्यानरमा चलचित्र बन्न लागेको हो ।