वि.सं २०६३ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वल चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ। बिहीवार निर्माण टिमले तीनवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । ‘आँधी तुफान २’आगामी साउन २० गतेबाट प्रदर्शनमा आउने भएको छ । पोस्टरमा चलचित्रका तीन अभिनेत्रीहरु आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ एक्सन अवतारमा देखिएका छन् ।
महेन्द्र बुढाथोकी निर्देशित चलचित्र ‘आँधी तुफान’ व्यावसायिक रुपमा सफल पनि भएको थियो। लेडी एक्सन चलचित्र ‘आँधी तुफान’मा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका थियो । नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण र अत्याचारको कथामा बनेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा रवी गिरी, पुस्कर राउत, सञ्चित भण्डारी, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकीलगायतको अभिनय छ ।
ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा मौनता श्रेष्ठको कथासँगै पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने ‘आँधी तुफान २’मा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पाश्र्व संगीत, मुख्य सहायक निर्देशक जीवन गौतम रहेका छन् ।