चार भित्ताको कोठामा बर्षौं थुनिँदाको कथा, “रुम”

न भिडियो गेम, न इन्टरनेट । मात्र चारओटा पर्खालहरु । पर्खालभित्र एउटा सानो बेड, एक बाथटव, र झ्र झ्र गर्ने पुरानो टिभी । यहि कोठा पाँच बर्षिय ज्याक (ज्याकोव ट्रिम्वे) को संसार हो ।

निकै कम बजेटमा निर्माण गरिएको फिल्म रुमको सुरुवात ज्याकको बिहानी उठाइबाट हुन्छ । उठ्ने बित्तिकै उ सानो कोठाभित्र भएको सबै चिजबिजलाई अभिवादन गर्छ, गुड मर्निङ टिभी, गुड मर्निङ ट्वाइलेट, गुड मर्निङ एभ्रिथिङ ।
उसको जिवन सुखमय छ । कोठामा उसकी आमा अर्थात मा (ब्रिइ लार्रसन) हरदम हुन्छिन् । ज्याक आमासँगै योगा गर्छ, आमासँगै एकै बाथटबमा नुहाउँछ, आमासँगै खान्छ, आमासँगै सुत्छ । कोठाबाट आकास देखिने सानो भेन्टिलेटरबाट सनलाइट प्राप्त गर्छ । उसको बास्तविक संसार त्यत्ति हो । यी बाहेक अन्य सबै उसले टेलिभिजनमा देखेका अवास्तविक चित्रहरु हुन् । फगत् कल्पना मात्र हो ।

ज्याक सुतेपछि कोठामा एउटा पुरुष आउँछ । उ को हो, के गर्छ, किन उसकी आमाले ज्याकलाई त्यो मानिसबाट लुकाउँछिन्, ज्याक र उसकी आमा लामो समयदेखि साँघुरो कोठामा किन छन् यी कुरा थाहा पाउन फिल्म हेर्नुहोला । फिल्म सन् २०१५ मा आएको हो । जम्मा १३ मिलियन डलरमा बनेको फिल्म रुमले झण्डै ४० मिलियन डलरको फाइदा कमाएको थियो ।

फिल्म नेटफिल्क्समा सजिलै हेर्न सकिन्छ । ८ दशमलव १ आइएमडीवी रेटिङ पाएको फिल्मलाई केहि समिक्षकले ५ स्टार समेत दिएका थिए । फिल्मले बिभिन्न बिधामा अन्तराष्ट्रिय अवार्ड समेत जितेको थियो ।

जन्मेदेखि सानो साँघुरो कोठामा हुर्केको ज्याकको मनोबिज्ञान निकै कठिन तरिकाले फिल्ममा प्रस्तुत गरिएको छ । उसैको न्यारेसनमा बगेको फिल्ममा बाहिरी संसारबारे उसकी मा ले बताउँदा आमालाई झुट बोलेको बताउँछ । बाहिरी संसार टिभीले देखाएजस्तो साच्चैको छ भन्दा उसलाई पत्याउन मुस्किल पर्छ ।

उनिहरुलाई अपहरण गरेर राख्ने क्रुर पुरुषले रिसको झोकमा बिजुली काटिदिन्छ । कम गुणस्तरको खानेकुरा ल्याइदिन्छ । यी सबले गर्दा ज्याककी आमा जसरी हुन्छ चार भित्ताभन्दा बाहिर निस्कने योजना बनाउँछिन् ।
आफूलाई भन्दा धेरै माया गर्ने छोरालाई बिरामी बनाउन निकै पिडा दिन्छिन् । तातो पानीमा चोबलेर पोल्छिन् । अपहरण गरेर राखेको पुरुषले अस्पताल लैजान्छ अनि चिच्याएर मानिसको सहयोग माग्ने र त्यो चंगुलबाट उम्कने उनको योजना हुन्छ । तर त्यो असफल हुन्छ ।

ज्याककी आमाले अर्को उपाय रच्छिन् । ज्याकलाई कार्पेटमा पोको पार्ने र मर्यो भनेर फाल्न लगाउने । कसरी सास रोक्ने, कसरी रोल गरेको कार्पेटबाट निस्कने र ट्रकबाट हामफाल्ने बित्तिकै कसरी भाग्ने, मानिसको सहयोग कसरी माग्ने । यी सबै कुरा रातदिन लगाएर ज्याकलाई सिकाउँछिन् । यो पटक भने उनिहरु सफल हुन्छन् ।

बाहिरी संसार देख्ने बित्तिकै ज्याकको मनोभावलाई निकै उत्कृष्ट तरिकाले फिल्ममा देखाइएको छ । सानो आकास हेरिरहेको उसले निकै ठुलो आकाश देख्छ । ज्याकको आँखा खुलाको खुल्यै रहन्छ । बास्तविक रुख, बास्तबिक कुकुर, बास्तविक मान्छे र टिभीमा देखेका सबै कुरा बास्तविक ।

ज्याकले भन्छ, जब म ४ बर्षको थिएँ, सबैकुरा मेरो थियो । अब म ५ बर्षको भएँ, म नै सबैथोक हुँ ।

कुन बास्तविक हो, कुन हैन । ज्याकलाई सुरुमा छुट्याउन निकै सकस हुन्छ । अन्य बालबालिका भन्दा फरक हुन्छ । तर ज्याककी आमा उ फरक छ भन्ने सोच्न सक्दिनन् । आफूले ज्याकलाई राम्रोसँग हुर्काएको र उ अन्य बच्चाजस्तै सामान्य भएको उनलाई लाग्छ । तर ज्याक त्यसको बिपरीत छ । उसलाई अन्य मानिसहरुसँग घुलमिल हुन समस्या पर्छ । उ कुकुर भने निकै मन पराउँछ ।

छोरा असामान्य भएको कुरा स्विकार्न नसकेकी ज्याककी आमाले आत्महत्याको कोसिस गर्छिन् । समयमै ज्याकले थाहा पाउँछ र सबैलाई खबर गर्छ । फलस्वरुप उसले आमालाई जोगाउन सफल हुन्छ । कलिलो मस्तिष्कमा अरु बच्चाजस्तो हुन नसक्दा आमाले आत्महत्या गर्न खोजेको ज्याकले थाहा पाउँछ । मन नलागेपनि अन्य मानिससँग बोल्ने, बच्चाहरुसँग खेल्ने गर्न थाल्छ ।
फिल्म थ्रिलर बिधामा बनेको छ । त्यसैले त्यहाँका संवाद देखि दृष्यसम्मले थ्रिल पैदा गर्छ । त्यस्तै सानो परिधिमा बस्ने बानी परेको ज्याकलाई स्वतन्त्रता भन्दा त्यहि चार भित्ताको कोठा मनपर्छ । बाथटब, पुरानो टीभी, ट्वाइलेट, साँघुरो खाट र आमा उसलाई पछिसम्म पनि सम्झना आइरहन्छ । त्यसैले उ फेरि त्यहि कोठामा जाने जिद्दी गर्छ । एक प्रकारले भन्दा उसलाई त्यो साँघुरो कोठा स्वतन्त्रता भन्दा निकै प्यारो लाग्छ ।

Leave a Reply