आफ्नो अभिव्यक्तिको कारण यतिबेला अभिनेता रमेश उप्रेतीको चर्को आलोचना भइरहेको छ । उनले बलात्कारबारे दिएको परिभाषाले गर्दा उनी विवादमा तानिएका हुन् ।
मंगलबार एक टीभी कार्यक्रममा कुराकानी गर्दै उप्रेतीले बलात्कारको परिभाषा दिँदै भनेका थिए, ‘बलात्कार हुने वितिक्कै कराउनु र चिच्याउनु पर्यो या भोलीपल्टै पुलिसमा गएर उजुरी दिनुपर्छ । एक वर्षपछि उजुरी दिएर हुँदैन । अनि, हरेक ठाउँमा बलात्कार हुँदैन । एक ठाउँमा भएपछि भयो । कुरा मिल्दा चमत्कार, नमिल्दा बलात्कार भन्नु राम्रो होइन ।’ उक्त अन्तवार्तामा उप्रेतीले पल शाह पीडक नभएको दाबी गरेका छन् ।
उप्रेतीको यस्तो बयानलाई लिएर अभिनेत्रीद्वय बेनिशा हमाल र स्वस्तिमा खड्काले भने आपत्ति जनाएका छन् । भिडियो क्लिप इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै उनीहरुले बलात्कार सम्बन्धी यस्तो सोच गलत रहेको बताएका छन् ।