‘रियल कपल’ सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आगामी भदौ ३ मा प्रदर्शन हुने छ । सेरोगेसीको कथामा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहनेछ ।
रञ्जित रौनियारले निर्देशन गर्ने चलचित्रलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । चलचित्रलाई काठमाडौंभित्र करणको कम्पनी जिजिए ग्रुप र मोफसलमा श्रीकृष्ण फिल्मस् र पाथिभरा फिल्मसले वितरण गर्दैछ । चलचित्रका प्रस्तुतकर्ता उद्धव पौडेल र निर्माता निरक पौडेल हुन् । चलचित्रमा राजुविक्रम थापाको छायाङ्कन, निर्देशक रन्जित रौनियारको कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा तथा संवाद, शम्भुजित बाँस्कोटा र निलेश सिंहको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
यस मितिमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’ पनि प्रदर्शन हुँदैछ। दीपक ओली निर्देशित चलचित्रले कृष्ण अष्टमीलाई लक्षित गर्दै सबैभन्दा पहिला उक्त मिति तय गरेको थियो । अब आउँदो भदौ ३ गते दुई नेपाली चलचित्र भिड्ने भएको छ ।
‘कृष्ण लीला’ मा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।