पर्दा पछाडीको हिरो ‘कुमार बेन’

सन्तोष कुमार थापा

‘नेपाली सिने क्षेत्रमा कुन फिल्म कसरी चलाउन पर्छ मलाई निकै राम्रोसँग थाहा छ । छक्कापन्जाले गर्ने मार्केटिङ र साँगुरो फिल्मले गर्ने मार्केटिङ त फरक हुनैपर्यो नि !’
कुमार बेनसँगको पहिलो भेटमा उनले यस्तै यस्तै गफ ठोके । सामान्य लवाई, सामान्य खुवाइ । गफ भने निकै ठुला । उनको कुरा सजिलै पत्याउन सकिने अवस्था थिएन । एक नम्बरको गफाडी रहेछ भन्ने मनमनै साचें, मुखमा त्यसो भन्ने हिम्मत भने आएन ।
आजभन्दा झण्डै ६ बर्षअघि एमआरआर (मेन्स रुम रिलोडेड) मा कुमार बेनसँग चिनजान भयो । उनि एमआरआरका सक्रिय सदस्य थिए । म पनि सक्रिय नै थिए । त्यसैले उनिसँग प्रत्यक्ष भेट हुन खासै समय लागेन । पहिलो भेटमा उनि वारेका अवधारण माथी सुनाइहालें ।

Mens Room Reloaded
Mens Room Reloaded

संगत बाक्लिंदै गयो । उनले गफमा भनेका कुरा बास्तवमै पुरा भएको देखे । खेलकुदमा उस्तै क्रेजी उनको जोखना ठ्याक्कै मिल्थ्यो । कुन फिल्मले नेपालमा पैसा कमाउँछ, कुनले कमाउँदैन ? नेपाली दर्शकको फिल्मी स्वाद कस्तो छ ? नेपाली खेल अन्तराष्ट्रिय प्रतिस्पर्धामा किन जान सकिरहेको छैन ? उनले बनाएका धारणाले बिस्तारै प्रभाव पार्दै लैजान थाल्यो । कुमार बेनको योजनामा प्रभावित हुनेमा म सँगै अर्का साथी भिक्टर पनि थिए ।
Kumar Ben
kumar Ben

कोभिड १९ को समयमा उनैको सल्लाहमा हामीले प्रभावकारी काम गर्‍यौ । सडकमा अलपत्र परेका जनावर र चराचरुङीलाई खाना खुवाने काम स्काउटसँग मिलेर हामीले गरेका थियौं ।
कोभिडको समयमा कोरिबाटी अनलाइनमा क्वीज खेलाउनेदेखि कलाकारिता क्षेत्रका दिग्गजसँग घरमा बसेर नै अन्तवार्ता गर्ने सल्लाह पनि उनैको थियो । उनले मलाई सधैं प्रोत्साहन दिइरहे । कोभिडको समयमा म बिना काम अरु जस्तै घरमा नै समय बिताइरहेको थिए । उनले भने, तिमी जतिको मानिस यस्तो बिषम परिस्थितीमा चुप बस्न सुहाउँदैन, यो बेला नै हो तिमीले फिल्म क्षेत्रको कुरा गर्ने । कोरिबाटीका लागि उनले दिएको सल्लाह सुझाव अनि मलाई व्यक्तिगत हितका कुरा सिकाउदै सेन्सर बोर्डसम्म पुगेर काम गर्न उत्प्रेरण दिने अनि बाटो देखाउने काम उनैले गरे।

Mens Room Reloaded

अनि आए बालेन बोकेर
उनले दिएका उपाय शिरोपर गर्दा मलाई कहिल्यै घाटा भएन । सधैं राम्रै भयो । त्यसैले पनि उनि मलाई मेरा शुभचिन्तक लाग्नथाले । उनि कसरी काम गर्दा मिडिया प्रभावकारी हुन्छ भनेर सल्लाह दिइरहन्थे । देशमा चुनावी माहोल खासै थिएन । एकदिन उनै कुमार बेनले फोन गरे । त्रिपुरेश्वरमा रहेको मेरो कार्यालयमा २ मिनेटमै आइपुग्ने बताए । ढोकामा उनलाई कुरेर बसे । गाडीमा कुमार बेनसँगै आए र्‍यापर बालेन । कलाकार तथा निर्माता निर्देशक आइरहने मेरो कार्यालयमा बालेन आउनु खासै नौलो लागेन । तर कुमार बेन, बालेनलाई काठमाडौंको मेयर बनाउने अवधारणा सहित मलाई भेट्न आएका रहेछन् । र्‍यापमा भिजेको अल्लारे ठिटो काठमाडौंको मेयर बन्ने कुरा केहि समय अगाडी देखी नै चल्दै आएको थियो । त्यो सपना साकार गर्न उनले बुनेका योजनाहरु सुनाउदै गर्दा यस्तो पनि हुनसक्छ र भन्ने सोच्दै सुनिरहेको थिएँ। उनिहरुले देखेको सपना साँच्चै मृगतृष्णा थियो मेरा लागि। तर उनी निरास बन्लान् भनेर हो मा हो मिलाएँ । लामो समयसम्म उनि एक्लै बालेनलाई लिएर लुखुरलुखुर हिँडे ।
बिस्तारै बालेनलाई जिताउने क्याम्पियन सुरु भयो । उनले भेटेका प्रायः कलाकार, निर्माता निर्देशक, पत्रकार, लेखकको जमघट मेरै रेष्टुरेन्टमा भयो । कुमार बेनले नै निणर्य लिए कस्ता मिडियालाई अन्तर्वार्ता दिने, कस्तालाई नदिने । कुन क्षेत्रमा के बोल्ने, कोसँग कस्ता कुरा गर्ने । अझ भनौं उनी एक्लैले बालेनको हात समाए, कसैले नसोचेको सपनालाई बिपनामा परिणत गरे ।
With Balen Shah
With Balen Shah

बाउ छाडे तर बालेन छाडेनन्
कुमार बेन ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार नरसिंह ब्यञ्जनकारका कान्छा छोरा हुन् । १० औं पटकसम्म अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार बनेर जितेका ब्यञ्जनकार यो पटक भने आफ्नै भतिजसँग पराजित भए ।
यसरी भन्दा कुमार बेनको रगतमा नै राजनिती छ । अगाडी बोल्दा खासै ढंग पुर्याउन नजान्ने उनि जे कुरामा लागिपर्छन्, त्यो पुरा गरेरै छाड्छन् ।

ललितपुरका मतदाता उनले यो पटक आफ्ना बाबुको चुनावी अभियानमा साथ दिएनन् । बाउ छाडेर बालेन जिताउन लागिपरे । एक्लैले बालेनको हात समातेर लाखौंको भिडमा पुर्‍याइदिए ।

युवालाई एकढिक्का बनाउन सिपालु
कुमार बेन युवाहरुलाई एकढिक्का बनाउन माहिर छन् । नेपालमा ट्रोल गर्न सिकाउने ब्यक्तिका रुपमा परिचित उनले अहिले चर्चामा रहेका सामाजिक सञ्जालका समुहहरुलाई प्रभावकारी तरिकाले कसरी चलाउने भन्नेबारे पनि सल्लाह सुझाव दिन्छन् ।
रुटिन अफ नेपाल बन्द, एमआरआर लगायतका सामाजिक सञ्जाल पेज र समुहहरुबाट एकढिक्का भएका युवाहरुलाई प्रभावकारी बनाउने भन्नेमा उनको सबैभन्दा ठुलो हात छ। बालेन जिताउन यी सामाजिक सञ्जालका पेज र समुहको मेहनत धेरै छ।
अहिले बालेनले जित्नुमा युवाको हात छ । जसको दिमागमा बालेन भर्ने काम कुमार बेनले गरेका हुन् । बिदेशमा भएका युवाहरुले घरमा फोन गरेर लौरोमा भोट नहाले घरै आउँदिन भन्ने वातावरण उनैले निर्माण गरेका हुन् भन्दा फरक नपर्ला ।
बोल्न खासै जान्दैनन् उनि । सुरुमा जे बोल्छन् बीचमा जति भड्किएपनि उनको अन्त्य पहिलो कुरामै गएर हुन्छ । जे कुरामा लाग्यो, उनि त्यसलाई टुङ्गोमा पुर्याएरै छाड्छन् ।
संगत गरेको यत्तिका बर्षमा कुमार बेन पैसाको पछि लागेको थाहा छैन। पुख्र्यौली जग्गाजमिनले खान लाउन समस्या नपर्ने भएकाले पनि उनि यता नलागेका हुनसक्छन् । तरपनि उनि चुप भने बसेका छैनन् । आफ्नै कामहरु प्रसस्त छन् उनको ।
समग्रमा भन्दा उनि पर्दा पछाडीका हिरो हुन् । किङ्ग मेकर हुन् । पर्दा अगाडी आउन खासै रुचाउँदैनन् । अहिले बालेनले काठमाडौंमा मेयर पद जितेका छन् । यसमा बालेन मात्रै हैन, कुमार बेन पनि बिजयी भएका हुन् । सफल कार्यकालको शुभकामना बालेनलाई । अनि एक युवालाई जिताउन सफल भएकोमा बधाई कुमार बेनलाई ।

Ellex Design
Ellex Design

Leave a Reply