अविनाश विक्रम शाह निर्देशित नेपाली चलचित्र ‘लोरी’ ले ७५ औँ कान्स फिल्म फेस्टिभलमा सर्ट फिल्म विधामा ‘स्पेशल मेन्सन’ अवार्ड जितेको छ ।
यसपटक १४ मिनेट लामो छोटो चलचित्र लोरीले दुईवटा इतिहास बनाएको छ । पहिलो, यो चलचित्र कान्समा आधिकारिक रूपमा प्रदर्शन हुने पहिलो नेपाली चलचित्र बनेको छ भने दोस्रो, मुख्य प्रतिस्पर्धा विधामा अवार्ड जित्न सफल भएको छ ।
चलचित्रको पटकथा तथा संवाद शाह आफैंले लेखेका हुन् भने छायांकन उजलकुमार बस्ताकोटीले गरेका हुन् । यसमा अंकिता यादव, सुजिता साह र प्रिति झाको अभिनय रहेको छ । यस चलचित्रलाई ‘अण्डरग्राउन्ड टकिज नेपाल’ र हङकङको ‘पेट्रा फिल्म्स’ मिलेर निर्माण गरेको हो ।