कात्तिक ५ मा विराटनगरमा फस्ट फ्लाएर्स फिल्म अवार्ड हुने

‘फस्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आगामी कात्तिक ५ गते विराटनगरमा आयोजना हुने भएको छ । यस अगाडि २४ वैशाखमा तय गरिएको अवार्ड स्थानीय निर्वाचनका कारण स्थगित भएको थियो । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बईको डिजाइनमा गर्न लागेको अवार्डमा ०७६, ०७७ र ०७८ चैत्रभित्र प्रदर्शन भएका नेपाली फिल्महरु सहभागी हुनेछन् ।

प्रतिस्पर्धी फिल्मबाट उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक, उत्कृष्ट फिल्म, उत्कृष्ट संगीतकार, उत्कृष्ट पाश्र्व गायक, उत्कृष्ट पाश्र्व गायिका, उत्कृष्ट कथा, पटकथालगायत लाइफ टाइम अचिभमेन्ट अवार्ड, पब्लिक च्वाइस अभिनेता, अभिनेत्री, जुरी गरी २३ विधा समेटिएको छ ।

मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले बताए ।

अवार्ड कार्यक्रमको प्रमुखमा मुकेश बुढाथोकी, उपप्रमुखमा रविन थापा, सल्लाहकारमा अनिश सिंह ठकुरी, प्रबन्ध निर्देशकमा चन्द्रप्रकाश राजवंशी (सिपी), एक्टिभिटिज डाइरेक्टर हरि शिवाकोटी, कार्यक्रम संयोजकमा अशिमा धुतराज, सञ्जु सापकोटा र रविन राजवंशी, व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।

भव्य रुपमा आयोजना गरिने अवार्ड कार्यक्रममा प्रदेश नम्बर १ का प्रमुख सबै जातजातिको मौलिक संस्कृति, भेषभुषा, संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य २ सय बढी कलाकारद्वारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । साइमन स्वयम् र नरेशवीर सिंहको कोरियोग्राफी रहेको कार्यक्रमका लागि काठमाडौंबाट थुप्रै कलाकार तथा संचारकर्मीलाई विराटनगर लगिने छ ।

Leave a Reply