नेपाली दर्शकलाई कस्ता फिल्म मनपर्छ ? कबड्डीका सिरिजहरु अत्याधिक मन पारइनुले उत्तर पक्कै फेला पर्यो होला । सामान्य, हल्का तर प्रत्येक संवादमा हाँसो भएको फिल्म हेर्न दर्शक हुल बाँधेर हल जाने रहेछन् । कबड्डी-४ मा कथा खासै छैन तर दर्शकले खुब मन पराइरहेका छन् । यसमा कथा भन्दा प्रस्तुती सुन्दर छ । मुस्ताङको थाकखोला वरपरको दृष्य । बिरकाजी, बिके र छन्त्यालको मित्रता । नयाँ हिरोइन शान्ति र दोस्रो सिरिजमा मैयाँ भगाउने बमकाजीको प्रवेश । शान्तिलाई पाउन बमकाजी एक्लैको लडाइँ । बस् फिल्म यत्ति हो ।
मागी बिबाहमा समते बेहुली भागेपछि निराश बनेको काजी बिहे नगर्ने, ब्रमाचार्य पालना गर्ने भन्दै लामा बनेर गुम्बामा बस्छ । मनको शान्ति खोज्न निस्केको उसलाई माष्टर्नी शान्तिले गुम्बामा बस्न दिँदिनन् । साथमा बाबुको बंश धान्न दोस्रो बिहे गर्ने सोच र आमाको आत्महत्याको धम्की पनि छँदैथियो । फिल्ममा बमकाजीलाई सिधै घोडा चढाएर फिल्ममा प्रवेश गराइएको छ । मैयाँ भगाएपछि उसले के गर्यो, कसो गर्यो भन्ने थाहा पाउनका लागि माष्टर बमकाजी नामको फिल्म पहिल्यै घोषणा भइसक्यो ।
घोडा चढेर आएको बमकाजी गाउँमा बस्ने कुनै आधार नभेटेर शहर फर्कन थालेको हुन्छ। तर शान्ति मिसलाई देख्ने बित्तिकै उनैको सुन्दरतामा भुल्छ । बमकाजी शान्तिको मायामा लठ्ठीएर त्यहि बिद्यालयमा शिक्षक बन्न जान्छ । अहिलेको सिक्वेलमा बिरकाजी, शान्ति र बमकाजीले पर्दा ओगटेका छन् । अन्य श्रृङ्खलामा केटीको पछाडी लाग्ने, बिहे गर्ने लक्ष्य मात्रै बोकेको बिरकाजी यो श्रृंखलामा फेरिएको छ । योपटक केटी नै उनको पछि परेकी छन् ।
चौंथो श्रृंखलासम्म आइपुग्दा कबड्डीले आफ्नै स्वाद बनाउन सफल भएको छ । पहिलो प्रिक्वेल र अहिलेको सिक्वेललाई हेर्ने हो भने फिल्मको कथ्य शैली एकै छ । खिचिएको दृष्य एकै, केहि कलाकार बाहेर अन्य पुरानै अनुहार । कथाबस्तु पनि उस्तै । दायरा निकै साँघुरो भएपनि समयसँगै पात्रहरुमा आएको परिवर्तनले फिल्मलाई नविनतम बनाएको छ। पात्रहरु मोटरसाइकल हुँदै कार चढ्ने बनेका छन्। बेरोजगारहरु रोजगार बनेका छन्। अशिक्षितहरु शिक्षित बनेका छन् । लोकल भट्टीमा ब्राण्डेड रक्सी पुगेको छ। फोनको नेटओर्क नटिप्ने ठाउँमा ई बैंकहरु पुगेका छन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धिमान तामाङ, बिजय बराल लगायतको अभिनय पुरानै हो । तुलनात्मक रुपमा योपटक बुद्धिमान र बिजयले खासै पर्दा ओगटेका छैनन् । उनिहरु पहिलेको तुलनामा केहि छायाँमा समेत परेको भान हुन्छ । बिके (बिजय बराल) को जिन्दगीको ट्वीष्टले फिल्ममा रौनक भने थपेको छ । सौगातको संवाद र दयाहाङको भावभंगी फिल्मका मुख्य आकर्षण हुन् । नयाँ कलाकारको रुपमा फिल्ममा प्रवेश गरेकी मिरुना मगरको अभिनय मौलिक छ । अर्की नयाँ कलाकार जसले भट्टी साहुनीको भुमिका निभाएकी छन्, पम्फा (गौमाया गुरुङ) उनको भुमिका खासै शसक्त छैन । तर उनको अभिनय भने राम्रो छ । समग्रमा सबै कलाकारको अभिनय मौलिक छ । ओभरयाक्टिङ छैन । अन्य श्रृखलाको तुलनामा योपटक हिमालको भ्यु खिच्न छायाँकारले खासै मिहेनत गरेका छैनन् । सायद पुरानै दृष्यहरु दोहोरिने भएकाले पनि त्यता ध्यान नगएको हुनसक्छ । फिल्ममा संगितको प्रयोग योग्य ठाउँमा गरिएको छ । ब्याकग्राउन्ड म्युजिकमा खासै मिहेनत नगरेपनि असुहाउँदो छैन । सामान्य काम भएका छन्। फिल्मको संवाद र स्कृन प्ले सशक्त छ ।
फिल्ममा चलाखी प्रयोग गरेर निर्देशकले अपुरो कथा छाडेका छन् । हलिउडको मार्वलले साइफाइ फिल्महरुमा पात्रहरुको छुट्टै फिल्म बनाएजस्तै कबड्डीका पात्रहरुको कथामा छुट्टै फिल्म भन्ने ठाउँ निर्देशकले राखेका छन् । फलस्वरुप उनले फिल्म हलमा लाग्नासाथै मास्टर बमकाजीको कथामा फिल्म बन्ने घोषणा गरिसकेका छन् । किनभने फिल्ममा दर्शककले बमकाजी मैयाँलाई लिएर भागेपछि कसरी मास्टर डिग्री गरेर एक्लै गाउँ फर्कियो भन्ने कथा खोज्नेछन् । जुन अहिलेको कबड्डी ४ मा छैन । त्यस्तै फिल्ममा छन्त्याल (बुद्धिमान तामाङ) को श्रीमतीलाई गर्भवती बनाउने झाँक्री भागेर कहाँ गयो, के गर्यो र फेरि कसरी थाकखोला गाउँमा फर्कियो भन्ने कथा पनि फिल्ममा छैन । एक्कासी पहिलो प्रिक्वेलबाट भागेको झाँक्रिलाई एकदमै इमान्दार बनाएर फिल्ममा प्रवेश गराइएको छ । निर्देशकले प्रत्येक पात्रको बारेमा कथाहरु लुकाएका छन् । सधैं कबड्डीकै कथा भनेर जिन्दगी बिताउने आधार बनाएका छन् उनले ।
अर्को सिक्वेल बनाउने चक्करमा कथालाई गन्तब्यमा नपुर्याई छाडिदिएका छन् । पर्दामा कलाकारको नाम आउन सुरु गरेपछि मात्रै फिल्म सकिएको थाहा पाउँछन् दर्शकले । पुरानै ढर्रामा फिल्ममा महिलालाई हाँसोको पात्र बनाइएको छ । पहिलो र दोस्रोमा महिलालाई जुन तरिकाले जर्वजस्ती प्रेममा पार्न खोजिएको थियो, अहिले पनि फिल्ममा त्यस्तै कथा भनिएको छ । त्यस्तै बीरकाजीको बाउले बोलेका संवादमा महिलालाई होच्याउने शब्दहरु धेरै छन् । उदाहरणका लागि छोरा बीरकाजीलाई भन्छन्, ओइ गोरु, अगाडी हरियो घाँस हाल्दापनि किन मुन्टो बटारिराख्छस् । यसमा नायिकालाई हरियो घाँसका रुपमा ब्याख्या गरिएको छ ।
अगाडीका प्रिक्वेल हेर्नुभएको छैन भने पात्र चिन्न समस्या पर्छ, कथामा खासै समस्या आउँदैन । रमाइलो, कत्तिपनि दिमाग लगाउन नपर्ने फिल्म हेर्न मनपर्छ भने कबड्डी ४ तपाइँको रोजाइमा पर्नसक्छ ।
दर्शकको प्रतिक्रियाको लागि लिंक क्लिक गर्नुहोस