दिनेश राउतको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रकाश’को चार देशका लागि ओभरसिज राइट्स विक्री भएको छ । निर्माण टिमले चलचित्रको महंगो मूल्यमा अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोप अधिकार विक्री गरेको हो । तर, चलचित्रको कति मुल्यमा राइट्स विक्री भयो भन्ने खुलाइएको छैन ।
निर्देशक दिनेश राउतले टिजरलाई मिलेको सकारात्मक प्रतिक्रियापछि विदेशबाट फिल्मको राम्रो माग आएको बताउँदै नेपालमा रिलिज भएकै दिन चार देशमा पनि चलचित्र प्रदर्शन हुने जानकारी दिए । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ ।
जुम्लामा छायाँकन भएको चलचित्रले त्यहाँको परिवेशलाई टिपेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ ।
चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।