सन्तोष सेनको आगामी चलचित्र ‘प्रेम गीत–३’मा अभिनेता प्रदीप खड्का (प्रेम) र मनिष राउतको बुबाको भूमिका निभाइरहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । विगत चार महिनादेखि निर्माण गरिएको भव्य सेटमा चलचित्रको आधा भाग छायाङ्कन सम्पन्न भएसँगै अभिनेता श्रेठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको हो ।
पोष्टर सार्वजनिक गर्दै निर्माता सेनले बाँकी छायाङकनका लागि मनाङ प्रस्थान गरेको जानकारी समेत गराएका छन् । सार्वजनिक पोष्टरमा अभिनेता श्रेष्ठलाई लामा कपाल र जुंगासहित जमानाको ड्रेसअपमा प्रस्तुत गरिएको छ । अभिनेता श्रेष्ठको क्यारेक्टर लुक सार्वजनिक भएसँगै दर्शकमाझ थप कौतुहलता थपिएको छ । केही समय अघि मात्रै पनि निर्माण पक्षले चलचित्रको मोसन टिजर सार्वजनिक गरेको थियो, जहाँ अभिनेता प्रदीप खड्कालाई योद्धा अवतारमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा प्रदीप, क्रिस्टिना गुरुङ, अनुभव, शिव र मनिषका साथै बालकलाकार समृद्धी शाही ठकुरी, भिलेनको भूमिकामा निर्माता सेन, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशिर राणा तथा सुनिल थापालगायतका कलाकारहरूको अभिनय रहने भएको छ । नयाँ वर्षको छेको पारेर चलचित्रलाई चैत्र २८ गते रिलिज गरिने तयारीमा रहेको छ । ‘प्रेमगीत’ को अघिल्ला दुई सिरिजमा चुलबुले र रुन्चे भूमिकामा देखिएका प्रदीपले यसपटक आफ्नो भूमिका दर्शकलाई फरक लाग्ने बताएका छन् ।
जनकारी अनुसार यो चलचित्रको छायाङकन काठमाडौंमा ४५ प्रतिशत गरिएको छ, भने बाँकी ५५ प्रतिशत मनाङ्गमा गरिनेछ । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्ने भएका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।