नेपथ्यका अमृत गुरुङको स्वरमा ‘दोख’को शीर्ष गीत सार्वजनिक

लोकप्रिय लोकपप ब्यान्ड नेपथ्यका गायक अमृत गुरुङको स्वरमा चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्यान्डले एरेन्ज गरेको हो । गीतमा चलचित्रका अधिकांश कलाकारहरु फिचर्ड छन्। ‘वन चरी उड्यो’ गीत भने लाइभ रेकर्डिङ गरिएको जनाइएको छ । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र आगामी असार २४ गतेबाट प्रदर्शन हुनेछ ।

निर्देशक बरालका अनुसार माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको कथा चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रले उठाउन खोजेको कथाले नेपाली दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त देखिन्छ । राजन कठेत लिखित ‘दोख’मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् । चलचित्रको वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप, डिसीएन र काठमाडौँ बाहिर एफडी कम्पनीले लिएको छ ।

Leave a Reply