पारलैङ्गिक कथामा बन्ने चलचित्र ‘गुलाबी’मा नाजिर हुसेन अनुबन्धित

नेपालमा औंलामा काउन्ट हुने महिला निर्देशकहरुको सुचीमा आउने नाम हो समुन्द्र भट्ट । क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी भट्टले केहि वर्ष पहिले ‘आधा पेज’ नामको चलचित्र निर्देशन गरेकी थिइन् । केहि वर्षको अन्तरपछि भट्ट पुनः चलचित्र निर्देशनमा फर्किने भएकी छिन् । उनको निर्देशनमा चलचित्र ‘गुलाबी’ बन्ने भएको छ ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो चलचित्रको स्कृप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् । प्री प्रोडक्सनमा रहेको यो चलचित्रमा हालै अभिनेता नाजिर हुसैनलाई अनुबन्ध गरिएको छ । नाजिर चलचित्रमा मुख्य अभिनयमा रहनेछन् । नाजिर बाहेक अन्य कलाकारहरुको टुंगो लाग्न बाँकी रहेको र केहि कलाकार अडिसनबाट छनोट गरिने बताइएको छ । यो बीचमा कलाकार विशाल पहाडीसँग भने सम्झौता भइसकेको बुझिएको छ ।

यो चलचित्रको लागि नाजिरले कम्तिमा १५ केजी तौल घटाउनुपर्नेछ, निर्देशक भट्टले भनिन्, ‘पछिल्लो एक महिनादेखि नाजिर यसको लागि प्रयासरत छन् ।’ स्कृप्ट अनुसार नाजिरलाई ५० केजी तौलको पात्रमा तयार हुनुपर्नेछ ।

भदौ अन्तिममा छायांकनमा जाने लक्ष्यकाबीच निर्माण टिम तयारीमा जुटेको छ । चलचित्रलाई आलोक शुक्लाले खिच्नेछन् । चलचित्रले उठाउने कथावस्तुको बारेमा निर्माण टिमले आधिकारिक रूपमा कुनै पनि तथ्य बाहिर ल्याएको छैन । यद्धपी ‘गुलाबी’ नामले पारलैङ्गिक कथा उठाउन लागेको झलक दिन्छ ।

Leave a Reply