भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘प्रेमगन्ज’को युरोप प्रदर्शन अधिकार बिक्री भएको छ । आइतवार निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै विदेशी चलचित्रझैँ ‘प्रेमगन्ज’ पनि युरोपको हलमा नै प्रदर्शन हुने जानकारी गराएको छ । चलचित्र नेपाल र युरोपमा एकसाथ प्रदर्शन हुनेछ । जर्मनीस्थित प्रतिष्ठित लोकाह फिल्म इन्टरनेशनलले चलचित्रको युरोप प्रदर्शन अधिकार खरिद गरेको हो ।
‘अन्तर्राष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौं, यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ,’ निर्देशक परिच्छेद सेनले भने ।
अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद सेनले नै लेखेका हुन् । चलचित्रले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गरेको छ । चलचित्रमा बेनिशा हमाल, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ । यस्तै, चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ र अभिनेत्री सुरक्षा पन्त भने अतिथि भूमिकामा छिन् ।
स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको चलचित्र, चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो ।