ग्रयान्ड मास्टर राजकुमार राईको मुख्य भूमिका रहेको चलचित्र ‘सोल अफ द कमान्डो’को प्रदर्शन मिति घोषणा गरिएको छ । गोर्खा सैनिकको जीवन कथामा निर्माण भएको चलचित्र नेपालसहित बेलायत र क्यानडामा पनि प्रदर्शन हुँदैछ । चलचित्र मंसिर २ गतेबाट नेपालमा प्रदर्शन हुनेछ भने अगस्ट २७ मा बेलायत र सेप्टेम्बर २४ र २५ मा क्यानडामा प्रदर्शन हुने छ ।
यस चलचित्रमा राईसँगै कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । मिलन राई र धन लिम्बू निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता विजया राई, रवि थापा, धन लिम्बु र मिलन राई हुन् भने कार्यकारी निर्मातामा विजय एल राई छन् ।
सिलिचुङ फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा दिर्घ गुरुङको छायांकन, एनबी महर्जनको द्वन्द्व, राजेश पायल राई र बबिना किरातीको गीतमा स्वर, सन्तोष दुमी र आनन्द राईको संगीत छ ।
राजकुमार राई नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रसिद्ध तेक्वान्दो खेलाडी समेत हुन् । अभिनेता राई ७औं डिग्री तेक्वान्दो ब्लाकबेल्ट हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै खेलहरुमा थुप्रै पदकहरु जितिसकेका उनले १९८४ बाट अन्तर्राष्ट्रिय च्याम्पियनसीप जित्न सफल भएका थिए । नेपाल, हङकङ, फिलिपिन्स, दक्षिण कोरिया, पाकिस्तान, स्पेन, ईरान लगायतका देशमा उनले कयौं खेल जितेका छन् । ‘सोल अफ द कमान्डो’मा उनलाई दर्शकले एक्सन अवतारमा देख्न पाउनेछन् ।