दशैँको अवसरमा आगामी असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने चलचित्र ‘प्रेमगीत ३’ ले यतिबेला तहल्का मचाइरहेको छ । चलचित्रको नेपाली र हिन्दी भर्सनमा टिजर, ट्रेलर र गीतहरु निकै चर्चामा छन् । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले दुवै देशमा प्रचारप्रसारलाई तिव्र बनाएको छ । निर्माण टिमले २ समुह भएर दर्शकको घर नजिक पुग्ने प्रयास गरिरहेका छन् । एउटा समुह हाम्रो मातृभूमि नेपालको प्रदेश,प्रदेश र दोस्रो समुह बजार खोतल्न भारतका विभिन्न सहरमा लागि परेका छन् ।
भारतमा प्रचारका लागि अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ र निर्माता तथा निर्देशक सन्तोष सेनले उतै छन् । यसै हप्ता उनीहरुले भारतको सिक्किम र आसाम क्षेत्रमा प्रचार गरेका छन् । भोली शुक्रवार कोलकातामा चलचित्रको प्रमोसनल कन्सर्ट हुँदैछ । नेपालमा प्रचारलाई तीव्र बनाउन चलचित्रका कलाकारहरु शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, प्रेम पुरी, गायक प्रताप दासलगायतलाई जिम्मा दिइएको छ ।
बिहीवारबाट नेपालमा चलचित्रको ‘प्रमोसनल टूर’ थालिएको छ । जसअन्तर्गत ७ वटै प्रदेशमा पुगेर फिल्मका कलाकारहरुले पत्रकार सम्मेलन गर्नेछन् । भदौ अन्तिमबाट प्रदीप, क्रिस्टिना र सन्तोषले पनि चलचित्रको नेपाल प्रचारमा जोडिने छन् ।
चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।