‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ आजबाट प्रदर्शनमा

आज शुक्रबारबाट एकसाथ दुई नयाँ चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ देशव्यापी रुपमा प्रदर्शन भएका छन् । यी दुवै चलचित्र फरक विषयवस्तु र भिन्न शैलीमा निर्माण भएका हुन् । यी दुई नेपाली चलचित्रसँगै दुई भारतीय चलचित्र ‘ब्रह्मास्त्र : पार्ट वान’ र ‘सीता रामम’ पनि प्रदर्शन भएका छन् । अहिले पनि नेपाली हलमा झिंगेदाउ, प्रकाश, सम्हालिन्छ कहिले मन लगायतका चलचित्र पनि प्रदर्शन भइरहेका छन् ।

प्रदीप शाही निर्देशित ‘गोर्खा स् बिनिथ द ब्रेभरी’ चलचित्रमा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित चलचित्रको नेपाल प्रदर्शनभन्दा अगाडि चलचित्रको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ भइसकेको छ ।

सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनौट भइसकेको फिल्म हो । बुसानमासबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको चलचित्रले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो ।

Leave a Reply