रणवीर कपूर र आलिया भट्ट अभिनित फ्यान्टेसी एक्सन-सुपरहिरो चलचित्र ‘ब्रह्मास्त्र पार्ट १: शिव’ ले रिलिज भएको दुई दिनमै विश्वव्यापी कलेक्सनमा १६० करोड रुपैयाँ कमाएको छ। सेप्टेम्बर ९ मा रिलिज भएको अयान मुखर्जी निर्देशित चलचित्रले पहिलो दिन विश्वभर ७५ करोड कमाएको थियो ।
बलिउडका व्यापार विश्लेषक सुमित कडेलको ट्वीटर पोष्टका अनुसार चलचित्रले शनिबार विश्वव्यापी रूपमा ८५ करोड कमाएको छ, जसमा विश्वव्यापी रूपमा यसको कुल कमाई १६० करोड पुगेको छ । चलचित्रमा रणवीर कपुर र आलिया भट्टका अलावा अमिताभ बच्चन, मौनी रोय र नागार्जुन जस्ता कलाकारको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा शाहरुख खान क्यामियो भूमिकामा छन् ।
करिब ४५० करोडको बजेटमा बनेको ‘ब्रह्मास्त्र पार्ट १: शिव’ अंग्रेजी, तमिल, तेलुगु, कन्नड र मलायालम भाषामा रिलिज भएको थियो। यसले १८ करोड भन्दा बढीको अग्रिम बुकिङ पनि रेकर्ड गरेको छ। ब्रह्मास्त्रलाई धर्मा प्रोडक्सन र डिज्नी लगायतले संयुक्त रुपमा निर्माण गरेका हुन् ।