चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिट मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा असोज २ गते हुने भएको छ । अदालतले सक्कली मिसिल झिकाउन आदेश दिएयता लगातार यो मुद्दाको सुनुवाइ सरिरहेको छ । सोमबार पनि यो मुद्दा हेर्न नभ्याइने सूचीमा परेको थियो ।
सोही दिन अभिनेता पल (पूर्णविक्रम) शाहको मुद्दामाथि पनि तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर चलचित्र निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले रिट दायर गरेका थिए ।
चलचित्र निर्देशकहरू पौड्याल, अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, मनिष पण्डित र निर्मलराज ढकालले रिट दायर गरेका थिए । केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।