नेपाली फिल्मका निर्माता तथा राजनीतिज्ञ रघु परियार नेपाली जनता दलको तर्फबाट समानुपातिक सुचीमा नम्बर १ मा परेका छन् । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि नेपाली जनता दलले हिजो बन्द सूची निर्वाचनमा आयोगमा बुझाएको थियो । जहाँ दलले सिफारिस गरेको सुचीको नम्बर १ मा निर्माता रघु परेका हुन् । अन्तराष्ट्रिय सम्पर्क राम्रो भएको र नेपाली राजनीति बुझेको युवा भएकोले उनको नाम पहिलो स्थानमा सिफारिस गरिएको दलले जनाएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभामा २ सय ७५ सांसद रहनेछन् । जसमा १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।
नेपाली जनता दलका वरिष्ठ उपाध्यक्ष समेत रहेका रघुले आफ्नो नाम पहिलो स्थानमा सर्वसम्मत रुपमा चयन भएकोमा खुसी व्यक्त गरे । ‘मलाई मेरो कर्मको फल प्राप्त भए जस्तो लागेको छ । मैले गरेको मेहनतले नै मलाई पार्टीबाट सर्वसम्मत रुपमा समानुपातिक तर्फको सुचीमा १ नम्बरमा राखिएको छ’ उनले भने । निर्माता रघुले केही दिन अगाडी मात्र बलिउड निर्माता तथा निर्देशक पुस्कर झासँगको सहकार्यमा ‘सायरा’ निर्माणको घोषणा गरेका छन् । पुस्करसँग उनको नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।
फिल्मलाई बलिउड अभिनेता तथा निर्देशक विशाल देसाईले निर्देशन गर्दैछन् । अस्ट्रेलियामा ९० प्रतिशत र नेपालमा १० प्रतिशत छायांकन हुने फिल्ममा आर्यन सिग्देल , सुफीया सिद्दिकी , कविता नेपाली लगायतको अभिनय रहनेछ । फिल्म आउँदो अक्टोबरमा छायांकन हुने तयारी गरिदैछ । रघुले पहिलो फिल्म ‘विरांगना’ निर्माण गरेका थिएँ ।