‘नालापानी’लाई विशेष शोमा उत्कृष्ट प्रतिक्रिया

तिहारको अवसर पारेर कार्तिक ४ गतेबाट प्रदर्शन हुने ऐतिहासिक चलचित्र ‘नालापानी’ नेपाल सरकारका विशिष्ट व्यक्तिहरुले हेरेका छन् । आइतवार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरद प्रताप राणा, केन्द्रीय चलचित्र जाँच पास समितिका अध्यक्ष सेवन्तक पोखरेल, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलगायतले चलचित्र हेरेका हुन् ।

आइतबार चलचित्र विकास बोर्डको हलमा भएको विशेष शोमा यी चलचित्र हेरिसकेपछि विशिष्ट व्यक्तिहरुले ऐतिहासिक विषयवस्तुमा चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिए । विशेष शोमा झन्डै ८० जना विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । पूर्वसचिव उपाध्यायले अहिले सस्तो रुपमा बुझ्ने गरेको नेपालको स्वाभिमान हाम्रो पुर्खाको रगतले जोगिएको हो भन्ने कुरा यो चलचित्रले सम्झाउने बताए । ‘चलचित्रमा समावेश शत्रुले पनि प्रशंसा गरेको कुराले मन छोयो । सबै नेपालीले एकपटक हेर्नै पर्छ । यो चलचित्र धेरै अनुसन्धान गरेर बनाइएको छ । पुस्तकमा पढ्दा यतिधेरै विस्तारमा पढिएको थिएन । यो चलचित्र बनाउने आँट देखेर म दंग छु’ उपाध्यालले भने ।

पूर्व प्रधानसेनापति क्षेत्रीले ‘नालापानी’ उत्कृष्ट बनेको बताए । उनले भने, ‘नेपाललाई स्वाधिन राख्न हाम्रा वीर र वीरंगानाहरुले त्यो समयमा दिएको बलिदानको जीवन्त चित्रण फिल्मले गरेको छ । फिल्ममा देखाइएको महिला र बालबालिकाले समेत युद्द लडेको यथार्थ हो । अहिले इतिहासलाई अवमुल्यन गरिराखेको अवस्थामा यो फिल्मको माध्यमबाट नेपाल र नेपाली जनताले फेरि एकपटक हामी स्वाभिमान छौं भन्ने अवसर दिएको छ ।’

चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्रका निर्देशक रिमेश अधिकारी हुन् । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो । चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

Leave a Reply