नेपालमा छायांकन भएको ‘उचाइँ’को ट्रेलर सार्वजनिक

नेपालमा छायांकन भएको बलिउडको चलचित्र ‘उचाइँ’को ट्रेलर सार्वजनिक भएको छ । आगामी ११ नोभेम्बर २०२२ अर्थात् कात्तिक २५ गतेलाई प्रदर्शन हुने चलचित्रको सार्वजनिक २ मिनेट ५० सेकेन्ड लामो ट्रेलरमा दिग्गज कलाकारहरू एउटै फ्रेममा एकसाथ फिचर्ड छन्। अमिताभ बच्चन, बोमन इरानी, ​​अनुपम खेर र ड्यानी डेन्जोङ्पा लगायत चारजना साथीहरूको समूह सगरमाथा आरोहण गर्ने विचारमा छलफल गरिरहेको छ।

डेनजोङ्पाको एउटै सपना छ– सगरमाथा चढ्ने । तर आफ्नो सपना पूरा गर्नुअघि नै उनको मृत्यु हुन्छ । उनका शोकमा परेका साथीहरूले उनको अन्तिम इच्छालाई सम्मान गर्ने र सगरमाथामा उनको खरानी विसर्जन गर्ने निर्णय गर्छन्। उनीहरूको उमेर र स्वस्थ समस्याहरूको बावजुद, अमिताभ, बोमन र अनुपम मित्रताको लागि सगरमाथा आरोहण गर्न जान्छन्। चलचित्रको ट्यागलाइनमा भनिएको छ, “मित्रता नै उनीहरुको प्रेरणा थियो।” चलचित्रमा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् । ट्रेलरमा नेपालको हिमालय क्षेत्र र मनमोहक दृश्य समेटिएको छ ।

सूरज बडजात्या निर्देशित मल्टीस्टारर ‘उचाइँ’को २०७८ सालको कात्तिकमा करीब २५ दिन नेपालको खोटाङको नाम्चेदेखि लुक्ला,बेसीसहर,काठमाडौं र विभिन्न क्षेत्रमा छायांकन भएको थियो । यो अवधिमा निर्माण टिमले करीब २० करोड नेपालमा खर्च गरेको थियो । चलचित्रले मित्रताको कथा भन्ने छ ।

चलचित्रको छायांकनका लागि भारतीय कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका हसन लगायत नेपाल आएका थिए । चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय रहेको छ । तर, उनी भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । नेपालमा उनको भागको छायांकनका लागि डुब्लिकेटको प्रयोग गरिएको थियो ।

चलचित्रमा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु लगायतको पनि अभिनय छ । चलचित्रको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ ।

Leave a Reply