‘बा अब हाम्रो काँधले तपाईँको बेइज्जतको डोली हैन, इज्जतको अर्ति उठाउन चाहन्छ ।’
फिल्म महापुरुषको एक शसक्त संवादबाटै लेख्न सुरु गरौं।
आफ्नो जिन्दगीलाई तिलान्जली दिएर हुर्काएका छोराछोरीकै इज्जतका लागी मर्नुपर्ने बाहरुको कथा हो फिल्म । यसमा बाको एक्लोपनाको कथा छ । समाजमा आर्दशबादी महापुरुष बन्ने चक्करमा ‘बा’ कसरी रोइरहेका छन् भन्ने फिल्मको मुख्य कथा हो । यो घरघरको कथा हो ।
आदर्शनगरबाट सुरु भएको छ फिल्म । त्यहाँका मानिसहरु आदर्शबादी छन ्। आदर्शनगरमा घर हुनु भनेको इज्जतको कुरा हो । त्यहाँका मानिसहरु मर्छन् तर इज्जत खेर फाल्दैनन् ।
त्यहि आदर्शनगरमा बस्ने एक परिवार छ । सुन्दर घरमा बाउ र छोरा बस्छन् । जेठो छोरा श्रीमती र छोराछोरी लिएर छुट्टिइसकेको छ । त्यो नगरकै सबैभन्दा आदर्श परिवारमा गनिन्छन् उनिहरु ।
कान्छो छोरो जसरी हुन्छ बिदेश उड्ने सोचमा छ । जेठो छोरो बालाई भगवान् बनाएर लेखक बन्ने तयारीमा छ । एक्लोपना मेटाउन गफ गर्ने एउटा सुगा थियो, पंखेटा नभएकाहरु त उडे, त्यो त पंखेटा भएको चरा किन बस्थ्यो उड्यो । यो अवस्थामा एक्लो बाको जीवनले के कस्तो मोड लिन्छ होला ? फिल्ममा के बाको बिहे होला त ? उत्तर थाहा पाउन फिल्म हेर्नुहोला । शुक्रवारबाट नेपालभर र नेपाल बाहिरपनि फिल्म एकसाथ प्रर्दशनमा आएको छ ।
नेपाल पितृसत्तात्मक देश हो भनेर सानैदेखि पढ्दै आइयो । निणर्य र नेतृत्व लिने ठाउँमा अहिलेपनि पुरुषलाई नै अग्रस्थानमा देख्न सकिन्छ । छोरालाई गर्ने ब्यवहार र छोरीलाई गर्ने ब्यवहार अहिलेपनि गाउँघरमा फरक छ । त्यसैमाथी समाजले महिला भनेका सहनशिल, इमोसनल, नयाँ बाताबरणमा छिट्टै घुलमिल भइहाल्ने जस्ता ट्याग झुण्ड्याइदिएको छ ।
यसको ठिक उल्टो, पुरुष इमोसनल हुनु हुँदैन, अरुको अगाडी रुनु हुँदैन, मनका कुराहरु अरुसँग बाँड्नु हुँदैन, मन डराएपनि शरिरले त्यस्तो स्वभाव देखाउनु हुँदैन जस्ता कडा नियम बनाएको छ समाजले । त्यहि समाजले बनाएको नियम मान्ने चक्करमा, अरुका लागि महापुरुष बन्न खोज्दा उनिहरु कसरी एक्लो भइरहेका छन् । फिल्मले धेरैको घरमा घटिरहेको तर सबैले नजरअन्दाज गरिरहेको घटना समेटेको छ ।
फिल्मको कथा उत्कृष्ट छ । यो फिल्मको कथा लेखेका तथा निर्देशन गरेका प्रदीप भट्टराइको एउटा खुबी छ, मुख मिठो बनाएर तितो औषधी खुवाउने । फिल्म महापुरुष पनि नेपाली समाजको एउटा तितो कथामा बनेको मिठो फिल्म हो । फिल्मले हँसाइहँसाइ हुरुक्क बनाउने सामथ्र्य राख्छ ।
फिल्मको सबैभन्दा उत्कृष्ट पक्ष यसको संवाद हो । मिठा र मन छुने पन्च लाइनहरु फिल्ममा धेरै छन् । नेपाली भाषा नराम्रो भएकाले संवाद बलिया नहुने तर्क गर्ने लेखकहरुलाई फिल्म महापुरुषको संवाद लेखन गतिलो झापड हा े। ति संवादहरुलाई मौलिक तरिकाले फिल्ममा देखाउनु अर्को बलियो पक्ष हो ।
फिल्मको कथा पर्दामा उतार्न सफल भएका छन् निर्देशक, त्यो पनि कलात्मक ढंगले । क्यामरा चलाउने तरिकादेखि गीत राख्दासम्मको सिक्वेनस उनले मिलाएका छन् । एडिटङमा मेहनत देखिन्छ । रंगरोगनको पाटो राम्रो छ ।
फिल्मको अन्त्य सन्तोषजनक छ । उनले अर्को भाग बनाउने भन्दै कथा बाँकी छाडेका छैनन् । यो पनि दर्शकका लागि बोनस हो अहिलेको अवस्थामा। नत्र अपुरा र अधुरा कथा भन्दै सिक्वेन्सका लागी फिल्म बाँकी छाड्ने फेसन जो चलेको छ ।
डेब्यु कलाकार अरुण क्षेत्री र अन्जना बराइलीको अभिनयमा दम छ । बिशेष गरेर अरुणको अभिनय माझीएका कलाकारको भन्दा कम छैन । उनले फिल्मको कथा र पात्रलाई न्याय गरेका छन् ।
फिल्मका मुख्य कलाकार हरिवंश आचर्यको यो तहको अभिनय सायद कमै देखिन्छ । उनि हाँस्य कलाकार कत्तिपनि देखिएका छैनन् । उनको अभिनयमा सबैको बाको झझल्को आउँछ ।
रविन्द्रसिंह बानियाँ, गौरी मल्ल, मदनकृष्ण श्रेष्ठ लगायत सबै कलाकारको अभिनय मौलिक छ । फिल्मको पाश्र्व संगित अब्बल छ ।
फिल्मका केहि दृष्यहरु भने अलि नाटकिय छन् । हँसाउने चक्करमा त्यस्ता फिल्मी दृष्य नराखिएको भए फिल्म अझै सशक्त बन्नसक्थ्यो । फिल्ममा एउटा संवाद प्रयोग गरिएको छ, आँखामा राखेपनि सम्धी नबिझाउने उल्टै सम्धिलाई बिझाउने । यहि संवादमा भनेजस्तो फिल्मको नाटकिय दृष्यले दर्शकको आँखा त बिझाउँदैन तर फिल्म भने हल्का बनाउँछ ।
छोराछोरी साना छँदा उनिहरुको भविष्यका लागि टाढा हुन्छन् बाहरु । बुढेशकालमा सेन्टिमेन्ट नजोडिएका छोराछोरी आफ्नै सन्ततीका लागि टाढा हुन्छन् र एक्लो पर्छन् बाहरु । जीवन साथीबाहेक अरुसँग नजिक हुन समाजले दिँदैन । बेलैमा जीवनसाथीले छाडेर जाँदा साँच्चै एक्ला पर्छन् बाहरु ।
समग्रमा, फिल्म उत्कृष्ठ बनेको छ । महापुरुष भएर बाँच्ने बाहरु कतै बृद्धाआश्रममा त कतै एक्लो चौतारीमा रोएर बस्न बाध्य छन् । फिल्म हेर्दा तपाइले आफ्नै घरको कथा भेट्नुहुनेछ । कतै रुनुहुनेछ त कतै हाँस्नुहुनेछ ।