गत कार्तिक ११ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । चलचित्रले पहिलो साता घरेलु बक्स अफिसमा साढे चार करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । प्रदर्शनको पहिलो दिनदेखि तेस्रो दिनसम्म सार्वजनिक विदा पर्दा चलचित्रले ३ करोड ३८ लाख (पहिलो दिन एक करोड, दोस्रो दिन डेढ करोड र तेस्रो दिन ८८ लाख) कमाएको थियो ।
प्रदर्शनकै दिन देखि हल पुगेर निर्माण टिमले प्रतिक्रिया समेत लिईरहेका छन् । हलसम्म आइपुगेका दर्शक चलचित्र हेरिसकेपछि निर्माण टिमलाई बधाई दिदै निस्किरहेका छन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।
चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।
षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा चलचित्र निर्माण गरेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा चलचित्रमा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।