नेपथ्य ब्यान्ड राष्ट्रव्यापी सांगीतिक यात्रामा निस्कँदै

लोकप्रिय लोक–रक ब्यान्ड नेपथ्यले देशव्यापी सांगीतिक यात्रा गर्ने भएको छ । यसै साताबाट सुरु गर्न लागेको सांगीतिक यात्राको तयारी पुरा भएको छ । एक महिना लामो यात्राका लागि कलाकार, व्यवस्थापन तथा प्राविधिकहरूको टोली समेत तयारी अवस्थामा रहेको छ । नेपथ्यको कन्सर्ट यही मंसिर १६ गते विराटनगरबाट सुरु हुनेछ । त्यसपछि क्रमशः पश्चिमतर्फ लाग्ने नेपथ्य टोलीले अन्तिममा काठमाडौं फर्केपछि पुस १६ गतेका दिन भृकुटीमण्डपमा दर्शकहरु सामु प्रस्तुत हुँदै कार्यक्रम समापन हुनेछ।

देशको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ सुरु हुन लागेको कार्यक्रममा नेपथ्यले देशका प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिने छ । आफ्ना गीतहरूलाई ‘मानवता प्रवर्द्धन अभियान’ सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ । घर परिवार र आफन्तविहीन भइ वा परिवार र समाजबाट अपहेलित भइ मानसिक रोग लागेका मानिसहरुको सेवामा समर्पित विशुद्ध मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दसकयता सक्रिय छ । यो संस्थाले तीन वर्ष भित्रमा सिंगो मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ ।

Leave a Reply