हजारौँ ट्याक्सीमा ‘सेन्टी भाइरस’को पोस्टर टाँसेर प्रचारप्रसारमा सहयोग (भिडियो सहित)

हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको चलचित्र ‘सेन्टी भाइरस’ को प्रचारप्रसारका लागि हजारौं ट्याक्सी चालकले ट्याक्सीमा सेन्टी भाइरसको पोस्टर टाँसेर सहयोग गर्दै छन् । सोमबार राजधानीको सनसिटी, कागेश्वरीमा आयोजना गरेको एक कार्यक्रममा सिताराम कट्टेल ‘धुर्मुस’ आफैले केहि ट्याक्सीमा चलचित्रको पोस्टर टाँसेर उक्त प्रचारप्रसारको सुरुवात गरेका छन्।

कार्यक्रममा उपस्थित सबै ट्याक्सी चालकहरुले सोहि बेला आ-आफ्नो ट्याक्सीमा पोस्टर टाँसेका थिए । विशेषगरी नेपाल यातायात व्यवसाय महासंघका ५० हजार भन्दा बढी गाडी , ट्याक्सी , माइक्रो, टिप्पर, ट्रकहरु सबैमा उक्त पोस्टर टाँसेर प्रचारप्रसार गर्न लागेकोमा सिताराम कट्टेल ‘धुर्मुस’ले सम्पूर्ण यातायात व्यवसायहरुलाई विशेष धन्यवाद दिएका छन् ।

कार्यक्रममा बोल्दै सिताराम कट्टेल ‘धुर्मुस’ले ‘यो चलचित्र विशेष गरी गौतम बुद्ध क्रिकेट रङ्गशालाको लागि बनाइएको चलचित्र हो,भने । उनी विगत ६ वर्ष देखि कलाकारिता र सामाजिक अभियानमा लागि रहेको पनि उनले बतए। उपत्यकामा चल्ने ११ हजार ट्याक्सीले पोस्टर टाँसेर यो चलचित्र उहाँहरुको परिवारले हेर्ने प्रतिबधता मात्र नभएर आम जनतालाई सूचिकृत गर्ने लक्ष्यले यो कार्यक्रमको सुरुवात गरेकोमा र उपत्यका ट्याक्सी सङ्घको पनि सहयोग पाएकोमा सिताराम‘धुर्मुस’ले आभार व्यक्त गरे ।

रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्रमा सिताराम र कुञ्जनाका अलावा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । चलचित्रको सम्पूर्ण दृश्य शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ चलचित्र निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेकी हुन् भने सह-निर्मातामा फूर्पा लामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

पहिले चलचित्रको १५ प्रतिशत नाफा मात्र गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा निर्माणमा खर्च गरिने भनिएको भए पनि अब भने ५० प्रतिशत नाफा खर्च गरिने भएको कार्यक्रममा सिताराम कट्टेल ‘धुर्मुस’ले बताए । २ करोडको लागतमा बनेको चलचित्र फागुन ९ गते (महाशिवरात्री) मा नेपालभर प्रदर्शन हुँदै छ । केही समय अघि सार्वजनिक गरिएको चलचित्रको ‘फनफनी’ बोलको गीतले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।

Leave a Reply