लोकप्रिय चलचित्र ‘पशुपति प्रसाद’को फ्रेञ्चाइज सिक्वेल ‘भष्मे डन’मा अभिनेत्री आँचल शर्मा भित्रिएकी छन् । फिल्मको केही दृश्य र एक गीतमा अभिनय रहने गरेर निर्माण युनिटले आँचललाई फिल्ममा भित्र्याएको हो ।
गत १० चैत्रबाट छायाङ्कन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा आँचलको भूमिका अहिले खुलाउन नमिल्ने निर्देशक निर्देशक दीपेन्द्र के खनालले बताए । चलचित्रको छायांकन सेड्युल ३० दिनको राखिएको छ । खगेन्द्र लामिछानेको निर्माण तथा पटकथा रहने चलचित्रमा सौगात मल्ल, वर्षा सिवाकोटी, रविन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतका कलाकारको पनि अभिनय रहने छ ।
आज भन्दा ७ वर्ष अगाडी रिलिज भएको ‘पशुपति प्रसाद’ व्यावसायिक र समिक्षात्मक रुपमा अब्बल सावित भएको थियो । चलचित्र २०८० सालको दशैँ अवसर पारेर फूलपातीमा रिलिज हुनेछ ।
कृष्ण भारद्वाज र सुवास भुषालको संगीत रहने सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दिर्घ खड्काको सम्पादन रहनेछ । निर्माण कम्पनि टुकी आर्टस प्रालिले ‘पशुपति प्रसाद’सहित ‘धनपति’ र ‘पानीफोटो’ जस्ता मौलिक सिनेमा निर्माण गरिसकेको छ ।