पुष्पा थपलिया
तिब्बतबाट काठमाडौं आएर क्याफे खोल्ने योजनामा छन्, तेन्जिङ । लोकेसन र व्यावसायिक पार्टनर खोज्ने क्रममा रविन्द्र, दिब्य र कर्मा उसका साथी बन्छन् । काठमाडौंमा रहेको भुकम्पले थिलोथिलो भएको मन्दिरमा पसेको रात उसले अचम्मको सपना देख्छ ।
त्यहि सपनाको कारण उसको भेट एक आधुनिक भिक्षुसँग हुन्छ । जो रातमा पनि कालो चस्मा लगाउने, गलामा हेडफोन झुण्ड्याउने, जतिखेरै सन्चो सुँध्दै र निधारमा दल्दै हिड्ने स्वभावको छ । राम्री युवतीको कुरा गर्छ, उ कफीको पारखी पनि हो । सेन्स अफ ह्युमर भएको यो आधुनिक भिक्षु जोक पनि गर्छ ।
सुरुमा तेन्जिनले भिक्षुलाई बाल दिँदैन । तर सपनाकै कारण उसमा आएको परिवर्तनले बाध्य भएर आधुनिक भिक्षुकोमा पुग्छ । भिक्षुले रमाइलो पारामा भन्छ, सपना नदेख्नुथ्यो देखिहालिस्, अब सात दिनमा मर्छस् । मरेनस् भने मेरो हेडफोन तँलाई गिफ्ट भो ।
अब तेन्जिनको बाँच्ने उपाय एउटै मात्र छ, डाकिनी । फिल्मको कथा तेन्जिङले डाकिनी खोज्दाको संघर्ष हो । उसले डाकिनी फेला पार्ला या नपार्ला? थाहा पाउन फिल्म हेर्नैपर्छ । फिल्म नेपालका सिमित हलहरुमा प्रर्दशन भइरहेका छन् ।
को हुन् डाकिनी?
फिल्मको बारेमा लेख्नुअघि डाकिनी को हो भन्ने थाहा पाउन जरुरी छ । धेरै सभ्यताहरुमा डाकिनीको बारेमा उल्लेख गरिएको छ । कुनै सभ्यताले डाकिनी देवि हो भनेको छ त कुनैले दानव । डाकिनीलाई केहि सभ्यताले जंगली आत्मा भएकी एकदमै तिब्र, उग्र, शक्तिशाली र चञ्चल युवतीको रुपमा पनि व्याख्या गरेको छ ।
हिन्दु तथा बौद्ध परम्परामा डाकिनीलाई राक्षसीको एक जात मानिन्छ । जसले मानिसको मासु र रगत खान्छ । अर्को तर्फ हिन्दु संस्कारमा डाकिनीलाई एक देवीको रुप मानिएको छ, जो मानव शरिरको ६ चक्रमध्ये एकसँग जोडिएको हुन्छ ।
नेपाल र तिब्बतको माइथोलोजीमा डाकिनीलाई शक्तिशाली महिला मानिएको छ जो रिसालु र अस्थिर हुन्छन् । प्रायः सबै सभ्यताले डाकिनीलाई महिलाको आवरणमा देखाएको छ । आवरण व्याख्या गर्दा डाकिनी, लासहरु माथी नृत्यस्थितीः (डान्सिङ पोजिसन) मानग्न रुपमा एक हातमा महिनावारी हुँदाको रगतको कपर अर्को हातमा चक्कु (कार्तिके) बोकेकी, खप्परहरुले बनेको माला लगाएकी, रिसालु अनुहारकी देखिन्छ । लासको माथी नाचिरहेको देखाइनु इगो र अज्ञानताको सिम्बोल हो ।
दशौंदेखि बार्हौं शताब्दिमा डाकिनीहरु उत्पति भएको मानिन्छ । आफ्ना दुख पिडाको समाधान गर्न डाकिनीको आरधना आम मानिसहरुले गर्दथे । यो चलन नेपाल, तिब्बत हुँदै जापानसम्म फैलियो । डाकिनीको आरधनाले नकारात्मक शक्ति ज्ञानको जादुमयी शक्तिमा रुपान्तरण हुन्छ भन्ने विश्वास छ ।
तिब्बतियन परम्परामा डाकिनीको ४ तहमा बाँडिएको पाइन्छ । तर चर्चित डाकिनी भने ३ तहका छन्, बज्रयोगीनी, नारोडाकिनी र सिंहामुखा । बज्रयोगीनीले अज्ञानता माथी विजयसँगै परित्यागको भावनालाई दर्शाउँछ । यसलाई तान्त्रिक बुद्धिष्ट देवी मानिन्छ, जो फिमेल बौद्धमार्गको प्रतिनिधित्व गर्छिन् । जसको निधारमा तेस्रो आँखा समेत खुलेको हुन्छ ।
नारोडाकिनीले बुद्धिष्ट भिक्षुलाई नारोपा नामको गोप्य मन्त्रदिएको बताइन्छ । हातमा महिनावारी हुँदाको रगतको कप र कार्तिके बोक्ने भएकाले बाहिरी आवरणले नारोडाकिनी सजिलै चिन्न सकिन्छ । र सिंहामुखा डाकिनी एकदमै रिसालु स्वभावका हुन्छिन् ।
अब कुरा गरौं फिल्मको रमाइलो पाटोबारे ।
भिक्षुहरुभन्दा टाढा रहेकाहरुलाई यो फिल्म रमाइलो लाग्न सक्छ । किनभने बाहिरबाट हेर्दा भिक्षुहरु गम्भिर, सानो स्वरले बोल्ने, आफ्नै सुरमा हिड्ने प्रवृत्तिका हुन्छन् भन्ने पर्न सक्छ । तर फिल्ममा प्रयोग गरिएका भिक्षुहरुको सेन्स अफ ह्युमर निकै रमाइलो छ । उनिहरुको क्रियाकलापले दर्शकलाई हाँस्न बाध्य बनाउँछ । फिल्ममा गरिएको क्यामराको काम राम्रो छ । तेन्जिङलाई प्रायः देब्रे साइडमा राखिएको छ । भिक्षुलाई भेट्दा भने उ दाहिने दृष्यमा छ । उसको भिक्षुप्रतिको बिश्वास, अविश्वासको रुपमायी दृष्यलाई लिन सकिन्छ ।
त्यस्तै, क्यामराका प्रायः सटले कथा भन्छ । उदाहरणका लागि, एक दृष्य छ, जहाँ आधुनिक भिक्षुले अर्को भिक्षु भेटाउन लैजान्छ । फर्कने क्रममा तेन्जिनले बाइक स्टार्ट गर्नुअघि उ पछाडीको सिटमा बस्छ । यसको अर्थ भिक्षुले थाहा पाइसक्यो, तेन्जिङले उसलाई त्यतै छाडेर जानेछ । आधुनिक भिक्षुले भविष्य थाहा पाउन सक्छ भन्ने प्रमाणित गर्न यो दृष्य काफी छ ।
फिल्मको सुरुवात एकदमै एल्लो टोनमा छ । प्रायःएल्लो टोनमै कथा अघि बढेको छ । तर हिन्दु कल्चर देखाउँदा रेड टोन छ । यसले बौद्ध र हिन्दुको कल्चरलाई बुझाउन मद्दत गर्छ । एक तिब्बतियन नागरिकले बोलेको नेपाली भाषाको मिठास उस्तै रमाइलो छ । दर्शकलाई सुरुदेखि नै संकेतहरु दिइरहेको हुन्छ, को हो डाकिनी भनेर । ति संकेतले जिज्ञासा सँगै कथामा दर्शकको चासो जगाइ राख्छ । यो पनि अर्को रमाइलो पाटो हो फिल्मको ।
नरमाइलो पाटोको कुरा गर्दा
नेपाली दर्शकका लागि फिल्म केहि हदसम्म स्लो लाग्न सक्छ । लामो समयसम्म एकै सटमा फिल्म खिचिरहँदा अलि अल्छि लाग्दो बनाएको छ । रविन्द्र सिंह बानियाँको पोष्टर अर्को नरमाइलो पक्ष हो फिल्म हेर्ने दर्शकका लागि । यदि रविन्द्रको पोष्टर नहेरिकनै फिल्म हल पुग्नुभयो भने तपाई भाग्यमानी हुनुहुन्छ । नत्र पोष्टरले नराम्रोसँग झुक्याउँछ । पाँच सेकेन्डमा सानो कुनामा लुकेको कुरा पोष्टरमा राख्नु भनेको निर्माता समेत रहेका रविन्द्रले सेतो झुट बोलेको मान्न सकिन्छ ।
फिल्म नेपाली र तिब्बती भाषामा छ । दुबै भाषा जानेका दर्शकका लागि सवटाइटल आवश्यक पर्दैन । तर सवटाइटल हेर्नपर्ने दर्शकका लागि फिल्म बुझ्न दोहोह्याउनुपर्ने बाध्यता हुन सक्छ । तर एकोहोरोमै दर्शक निदाउने सम्भावमा धेरै देखियो । समग्रमाः नेपालीभन्दा फरक स्वाद बोकेको फिल्म हो, लुकिङ फर अ लेडी वीथ फ्याङ्ग एण्ड अ मोस्टाच अर्थात ‘डाकिनी’। फरक स्वाद मनपर्छ भने यो फिल्म तपाईको रोजाइमा पर्न सक्छ ।