अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको चलचित्र ‘बगान’ आजबाट प्रदर्शनमा आएको छ । एकल महिलाको पुनर्विवाहको कथा भन्ने चलचित्रमा अभिनेत्री करिश्मा मानन्धरले एकल आमाको भूमिका निर्वाह गरेकी छन् र उनको छोरीको भूमिकामा नव-अभिनेत्री प्रमिला कार्की छिन् । एकल महिलालाई समाजले गर्ने तुच्छ व्यवहार र आमाको पुनर्विवाह गर्न छोरीले गरेको संघर्षमा फिल्म आधारित छ ।
‘बगान’ एकल महिलाको कथामाथि निर्माण भएकाले निर्माण टिमले एकल महिलालाई निःशुल्क चलचित्र देखाउने व्यवस्था पनि गरेको छ । यसका लागि सरकारद्वारा जारी पत्र लिएर हल जानुपर्नेछ ।
चलचित्रमा करिश्मा र प्रमिलासँगै निर्देशक खनाल, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेका छन्। नेपाली वेबसाइटको प्रस्तुति रहने ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्मात्री अभिनेत्री करिश्मा मानन्धर हुन् ।
शुक्रबारबाट ‘बगान’सँगै अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहे पास’ पनि पुनः प्रदर्शनमा आएको छ । यो चलचित्र गत बैशाख १ गते सार्वजनिक प्रदर्शन भएको थियो । विवाहको लागि युवतीको मन जित्न एक पुरुषले गर्ने संघर्षको कथामाथि बनेको चलचित्रमा दयाहाङ र प्रकृतिले पहिलो पटक एकसाथ काम गरेका हुन् । चलचित्रका निर्माता तथा वितरक रोहित कट्टेलले यतिबेला हलमा नेपाली चलचित्र खासै नभएका कारण हल व्यावसायीहरुकै आग्रहमा ‘बिहे पास’ पुनः प्रदर्शन गर्न लागिएको बताए ।
प्रवेश पौडेल निर्देशित चलचित्रमा श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ,रविन्द्र झा, शिशिर बाङ्गदेल सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, उमा बानियाँ, नविन शेरचन आदिको अभिनय छ ।