फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा अभिनेता निश्चल बस्नेतको इन्ट्री भएको छ। फिल्मकै मुख्य भूमिकाका लागि बस्नेतलाई अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ। केही दिनअघि फिल्मको मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका थिए । निर्माण टिमले खगेन्द्र र निश्चलसँग एकैदिन कागजी सम्झौता गरेको थियो ।
आगामी साउन २५ गतेबाट छायांकन सुरु गर्न लागिएको फिल्मका लागि अझै चारजना कलाकारलाई मुख्य भूमिका अनुबन्ध गरिने निर्देशक खनालले जानकारी दिए । उपन्यासकार बुद्धिसागरले यो फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता छन् भने युवराज कार्की कार्यकारी निर्माता हुन् ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको प्रस्तुतिमा बन्न लागेको ‘के घर के डेरा २’लाई काठमाडौं उपत्यकाभित्र रिच इन्टरटेन्मेन्ट तथा उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् ।
सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को ‘सिक्वेल’ हो । त्यतिबेला यो फिल्म ‘सेमी हिट’ भएको थियो ।