‘ह्रस्व दीर्घ’को टिजर: एउटै ग्रह, नक्षत्र र भाग्य भएका जोडीको प्रेमकथा

चन्द्र पन्त निर्देशित प्रतीक्षित फिल्म ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा सार्वजनिक टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।

एउटै ग्रह, नक्षत्र र भाग्य भएका दुई प्रेमीले आफ्ना प्रेमलाई जीवन्त तुल्याउन धोका र षड्यन्त्रविरुद्ध गर्ने संघर्षको कथा यसमा समेटिएको छ । नीता ढुंगाना र हरिहर अधिकारीलाई रोमान्टिक जोडीको रुपमा देख्न सकिन्छ ।

यो मल्टिस्टारर फिल्ममा नेपाल र भारतीय फिल्मका हस्तीहरु छन् । एकातिर प्रदीप रावत, ब्रम्हनन्दम, अलिजस्ता भारतीय सिद्धहस्त कलाकार र अर्कोतिर रेखा थापा, विपना थापा, सरोज खनाल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकार ।

सारमा ‘ह्रस्व दीर्घ’ एउटै भाग्य भएका दुई जोडीको प्रेमकथा हो । फिल्मको केन्द्रीय द्वन्द्व ज्योतिषीय अन्तरविरोधदेखि सुरु हुन्छ जहाँ एउटै ग्रह र नक्षत्र भएका व्यक्ति प्रस्तुत छन् ।

यो फिल्ममा हरिहर, नीता र गरिमा शर्माको उपस्थितीले फिल्म त्रिकोणीय प्रेम हुनसक्ने अनुमान पनि छ । रेखा थापाबाहेक अन्य दृश्य र पात्रको संवाद प्रस्तुत नगरिएकाले निर्माताले रहस्य पत्ता लगाउने जिम्मा दर्शकको जिम्मामा छाडिदिएका छन् ।

नीता फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको निर्मात्री नीता ढुंगाना हुन् । पटकथा हरिहरले लेखेका हुन् । छायांकन भारतीय प्राविधिक कवीरलालले गरेका छन् । ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते प्रदर्शन तयारीमा छ ।

Leave a Reply