अभिनेता सुशील श्रेष्ठका लागि आगामी चलचित्र ‘आउट ल’ करिअरको दृष्टिकोणले निर्णायक बन्न सक्ने ठानिएको छ। अघिल्ला चलचित्रहरू निरन्तर असफल भएपछि यो चलचित्र व्यावसायिक रूपमा सफल हुनु उनका लागि अत्यावश्यक छ। यस कारण उनले चलचित्रमा दिलोज्यान दिएर काम गरेका छन्। चलचित्रमा सुशील पूर्ण रूपमा एक्सन अवतारमा प्रस्तुत हुँदैछन्। निर्माण पक्षका अनुसार उनले प्रदर्शन गरेका एक्सन दृश्यहरू अत्यन्तै प्रभावकारी छन्।
चलचित्रमा समावेश केही दृश्यहरू महत्त्वपूर्ण मात्र नभई अत्यन्त जोखिमपूर्ण पनि रहेका छन्। केही हप्ताअघि चलचित्रको एउटा एक्सन सिक्वेन्समा ४० लाख रुपैयाँ खर्च गरिएको थियो। उक्त सिक्वेन्समा सुशीलको शरीरमा आगो लगाएर खतरनाक स्टन्ट गराइएको थियो। बलिरहेको अवस्थामै उनले झन्डै एक मिनेटसम्म एक्सन गरेका थिए। निर्देशक विक्की महर्जनका अनुसार चलचित्रमा सुशीलले झन्डै ५० मिनेट लामो एक्सन गरेका छन्।
चलचित्रको एक्सन कोरियोग्राफीलाई हलिउड र कोरियन शैलीको स्पर्श दिने प्रयास गरिएको छ। सुशील श्रेष्ठसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, र विशाल पहारीको अभिनय रहेको यस चलचित्रमा नवीन गुरुङको छायांकन, चुल्ठे काजीको द्वन्द्व निर्देशन, र साहिल खानको सम्पादन रहेको छ। चलचित्रको लेखन र निर्देशन विक्की महर्जनले गरेका हुन्।
चलचित्रको प्रदर्शन मिति होली पर्वलाई लक्षित गर्दै फागुन २९ तय गरिएको छ। निर्मातामा अमित अग्रहरी र कार्यकारी निर्मातामा विनोद कठायत छन्, भने विकास चौधरी सह-निर्मातामा छन्। गत साउनमा सार्वजनिक भएको चलचित्रको टिजरले दर्शकबीच राम्रो हाइप सिर्जना गरेको थियो। तर, असोज ३ गतेको रिलिज मिति सारिएपछि त्यो उत्साहमा केही कमी आएको देखिएको छ। अहिले पनि दर्शकमा चलचित्रप्रति चासो र अपेक्षा कायम छ।