अभिनेत्री आना शर्मा हालै आफ्नो नयाँ चलचित्रको छायांकनमा व्यस्त भएकी छन्। पाँच वर्षपछि ‘एक्टर: टेक वन’ मार्फत ठूलो पर्दामा कमब्याक गरेकी उनले अब अर्को नयाँ परियोजनामा हात हालिसकेकी छिन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो आगामी चलचित्रबारे संकेत गर्दै एक तस्वीर सार्वजनिक गरिन्, जहाँ उनले ‘नयाँ सुरुवात’ भन्दै उत्साह व्यक्त गरेकी छन्। यसपटक उनी भारतीय अभिनेता सत्यजीत दुबे र निर्देशक रोहितकरण वैद्यसँग सहकार्य गर्दैछिन्। चलचित्रको नामबारे आधिकारिक रूपमा खुलासा नगरिए पनि प्राप्त जानकारी अनुसार यो चलचित्र ‘मायाको माया’ नामक प्रेमकथामा आधारित छ।
‘मायाको माया’को छायांकनको एक अंश करिब तीन वर्षअघि नै गरिएको थियो, जहाँ प्रमुख भूमिकामा आना शर्माका अलावा अभिनेता राजेश हमाल र अनुप विक्रम शाही पनि संलग्न थिए। तर, विभिन्न कारणले निर्माण कार्य रोकिएको थियो, जसका कारण चलचित्र अधुरै रहन पुग्यो। अब भने निर्माण पक्षले पुरै चलचित्र पुनः छायांकन गर्ने निर्णय गरेको छ। पुनःनिर्माणको क्रममा मुख्य कलाकारको सूचीमा परिवर्तन गरिएको छ, जसअनुसार आना मात्र दोहोरिएकी छन् भने राजेश हमाल र अनुप विक्रम शाही अब यस चलचित्रमा रहने छैनन्। प्रारम्भिक संस्करणमा अनुप विक्रम शाही आनाको जोडीको रूपमा थिए, तर अहिले सत्यजीत दुबेले उनको स्थान लिएका छन्।
सत्यजीत दुबे भारतीय फिल्म तथा वेब सिरिज उद्योगमा परिचित नाम हुन्। उनी ‘मुम्बई डायरिज’ जस्ता चर्चित वेब सिरिजमार्फत दर्शकमाझ लोकप्रिय बनेका छन्। हालै मात्र उनले अभिनेता सञ्जय दत्तसँग ‘प्रस्थानम’ चलचित्रमा काम गरेका थिए, जुन भारतीय दर्शकमाझ राम्रो रुचाइएको थियो। सन् २०११ मा ‘अल्वेज कभी कभी’ चलचित्रबाट बलिउडमा डेब्यु गरेका सत्यजीत केही दिनअघि मात्र नेपाल आएका थिए। प्रारम्भिक वर्कसप सकिएपछि आइतबारबाट चलचित्रको छायांकन सुरु गरिएको छ। ‘मायाको माया’ नामकै आधारमा प्रेमकथात्मक हुने संकेत मिल्छ, जसले आना शर्मा र सत्यजीत दुबेको जोडीलाई नयाँ रूपमा प्रस्तुत गर्नेछ।