‘के घर के डेरा’को छायाँकन रोकियो

प्रदीप रिमाल निर्देशित तीन दशक अगाडिको चलचित्र ‘के घर के डेरा’ को नाम सापटी लिएर सुब्रत राज आचार्यले निर्देशन गर्ने चलचित्र ‘के घर के डेरा’ को छायाङ्कन रोकिएको छ । चलचित्र यही चैत्र दोस्रो साताबाट छायाङ्कनमा जाने तयारी थियो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण सतर्कता अपनाउँदै अवस्था सामान्य नभए सम्मका लागी छायाङ्कन रोकिएको निर्देशक सुब्रतराज आचार्यले बताएका छन् । चलचित्र घरहरू बन्द छन् भने छायांकनरत लगभग सबै चलचित्रहरूले छायाङ्कन स्थगन गरेका छन् । यसैले चलचित्रका कार्यकारी निर्माता ताक्पा तामाङ (सिङे लामा)ले स्वास्थ्य पहिलो रोजाई रहेकोले छायाङ्कन स्थगित गरिएको बताएका छन् । ‘हाम्रो स्वास्थ्य पहिलो प्राथमिकता हो, हामी रहे चलचित्र बनाउँदै गरौँला’, उनले भने । चलचित्र युनिटले महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा अपिल समेत गरेको छ ।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्र ‘के घर के डेरा’मा भर्सटायल अभिनेता द्वय दयाहाङ राई र विपिन कार्की, वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईको अभिनय रहनेछ । चलचित्रमा शरद श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा छन् भने चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापा ‘स्माइल’को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज, गम्भिर बिस्टको कोरियोग्राफी रहनेछ । चलचित्रको पटकथा सफल केसी र प्रतिक गुरुङले मिलेर लेखेका छन् । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा बन्न लागेको चलचित्रमा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने सिंगे लामा कार्यकारी निर्मातामा छन् । सामाजिक विषयवस्तुमा बन्ने चलचित्र आउँदो बर्ष २०७७को तीजमा रिलिज हुदैछ ।

Leave a Reply