कोरोनाविरुद्धको राहत कोषमा वर्षाले गरिन् एक लाख सहयोग (भिडियो)

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले एक हप्ताका लागि पूरै देश ‘लकडाउन’ गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को जोखिमबाट बच्न नेपाल सरकारले घोषणा गरेको सात दिने लकडाउनले जीवन अस्तव्यस्त बनेको छ । कोरोनाको त्रासले गरिएको ‘लकडाउन’का कारण रोजीरोटी गुमेका मजदुरहरुलाई विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा पनि धेरैले सहयोग गरिरहेका छन् ।

सरकारले आपत्कालीन सहयोगका लागी कोरोना रोकथाम कोष खडा गरेको छ । जसमा जसले पनि सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ । विभिन्न तह र तप्काका व्यक्तिहरूले यसको लागि सहयोग गरिरहेका छन् । यसबीच, अभिनेत्री वर्षा सिवाकोटीले पनि मजदुरहरुका लागि राहत स्वरुप एक लाख रुपैयाँ दिने घोषणा गरेकी छन् । ‘दैनिक काम गरेर जिवन गुजारा गर्ने दिदि-बहिनि तथा दाजु-भाइका निमित्त मैले १ लाख सहयोग गर्दैछु । यो नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ । आशा छ, यो रकम सहि ठाउँमा प्रयोग हुनेछ ।’ उनले आइतवार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै सहयोग गर्ने घोषणा गरेकी हुन् ।

दैनिक रुपमा सामाजिक सञ्जालको माध्यमबाट कोरोनाबाट बच्न घरमै विशेष सावधानी अपनाएर सुरिक्षत रहन आग्रह गर्दै आइरहेकी अभिनेत्री वर्षा सिवाकोटीले कोरोनाबाट देशलाई बचाउन दिनरात खट्ने डाक्टर, नर्स तथा मेडिकलसँग सम्बन्धित व्यक्तिहरु र नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गरेकी छन् । यो विपत्तको समयमा वर्षाले गरेको सहयोगको सम्पूर्णले प्रशंसा गरेका छन् ।

Leave a Reply