कोरोना भाइरससँग लड्न विश्वका हरेक कुनाबाट सबैले आ आफ्नो ठाउँबाट लागिपरेका छन् । भारतमा तीव्र गतिले फैलिरहेको कोरोनासँग लड्न र यसको क्षति कम गर्न सरकारले अनेक पाइलाहरू चालिरहेको छ । सरकारले चालेको कदमलाई साथ दिँदै बलिउड कलाकारहरूले आफ्नो तर्फ बाट सक्दो सहयोग गरिरहेका छन् र अगाडी पनि सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन् । कोरोना फैलन नदिन गरिएको लक डाउनले भारतका मजदुरहरूलाई धेरै नै प्रभाव परेको छ ।
दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूलाई अहिले छाक टार्न गाह्रो भइरहेको छ । यस समस्यालाई न्यूनीकरण गर्न बलिउड अभिनेता सलमान खानले निम्न वर्गका मजदुरलाई सहयोग गर्ने भएका छन् । फेडेरेसन वेस्टर्न इण्डियन सिने इम्प्लाइज एफडब्ल्युआईसीईसँग रहेर काम गर्ने २५ हजार कर्मचारीहरूलाई सलमान खानले सहयोग गर्ने भएका हुन् । अन्य कलाकारले राहत कोषका मार्फत सहयोग गरे पनि सलमानले सिधै मजदुरलाई दैनिकी गुजारा गर्नको लागी सहयोग गर्न लागेका हुन् ।