कोरोना भाइरस (कोभिड १९)विश्वभर फैलिएको छ । कोरोना भाइरसको कहरबाट जोगिन र क्षति न्यूनीकरण गर्न नेपाल सरकारले तेस्रो पटक वैशाख ३ गते सम्मको लागी घोषणा गरिएको लकडाउनको समय भोली सकिँदैछ । चैत ११ गतेबाट सुरु भएको लकडाउनले नेपालका हरेक क्षेत्र प्रभावित भएका छन् । यसमा नेपाली चलचित्र क्षेत्र पनि पर्छ । ‘लकडाउन’ गरेपछि नेपाली चलचित्रका हरेक गतिविधि ठप्प भएका छन् ।
सरकारले बैशाख १८ गतेसम्मका लागि सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि जेठअघिका अधिकांश चलचित्रको प्रदर्शन स्थगित भएका छन् । यसबीच, चलचित्र ‘हिजो आजका कुरा’ को पनि प्रदर्शन रोकिएको छ । चलचित्र यही बैशाख १२ गते प्रदर्शनमा आउँदै थियो । निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले सोमवार एक विज्ञप्ती जारी गर्दै चलचित्रको प्रदर्शन सरेको जानकारी गराएको हो ।
निर्धारित मितिमै चलचित्र प्रदर्शन गर्ने तयारी गरिए पनि वर्तमान प्रतिकृल परिस्थितिका कारण चलचित्रको प्रदर्शन स्थगित गरिएको निर्देशक साकार पन्तले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘जनजीवन सामान्य अवस्थामा फर्किएपछि चलचित्र को नयाँ प्रदर्शन मिति तय गर्नेछौं ।’ ‘माया जदौ’ गीत दर्शकले रुचाएकोमा निर्माण टिमले खुसी व्यक्त गरेको छ ।
करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर चलचित्र निर्माण भएको हो । कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथामा चलचित्र निर्माण भएको बताइएको छ ।
रवि सायमीले खिचेको चलचित्रको कथा सन्तोष सन्त र साकार पन्तको हो भने, सन्दीप किस्नाको पटकथा छ । ‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाकै अभिनय रहेको चलचित्रमा केकी, ऋचा र रिमासँगै जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, नव-कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरेलगायतको पनि अभिनय छ ।