लकडाउनको समयमा कुनै न कुनै विवादमा नेपाली चलचित्र क्षेत्र अल्झिएको छ । वर्षा राउत,दीपाश्री निरौला,पूजा शर्मालगायतका कलाकार आफूले दिएको अभिव्यक्तिका कारण विवादित र आलोचित बने । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भूवन केसीले आफूलाई ह्यारेसमेन्ट गरेको भन्दै मिडियामा भनाई सार्वजनिक गरेपछि यो बिषय अदालतसम्म पुगेको छ । केही दिनयता अभिनेत्री पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीको विवाद उत्कर्षमा छ । पत्रकार सुवेदीले एपी वानको ‘रजतपट’ कार्यक्रममा नेपाली नायिकाहरुलाई लक्षित गर्दै उनले ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दारा मिलाइ मिलाई, कती हाँस्नु’ भन्ने शब्द उल्लेख गरेपछि यसको आलोचना भयो । प्रकाशले माफी पनि मागे । पूजाले उक्त शब्द आफूप्रति लक्षित रहेको भन्दै नेपाली चलचित्र सम्बन्धित विभिन्न संघ-संस्थामा उजुरी दिएकी छन् । यस्ता सबै विवादहरु सामाजिक संजालमा भाइरल भइरहेका हुन्छन् ।
यसैक्रममा कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीले वर्तमान समयमा कोरोनाभाइरस र सामाजिक सञ्जालमा हुने भाइरल दुवै खतरनाक भएको बताएका हुन् । ‘हिजो र आज’ शीर्षकमा लामो स्टाटस पोष्ट गर्दै गिरीले भाइरल र भाइरसबाट बच्न सुझाएका समेत छन् । ‘हरेक दिन कोरोना भाइरसको डर फैलिरहेसँगै एक चलचित्रकर्मीको हिसाबले आज कुन सहकर्मी भाइरल हुने हो भन्ने डरले मुटु झस्किरहन्छ आजकाल । एकातिर भाइरसको डर अर्काे तिर भाइरलको डर,’ उनले अगाडी लेखेका छन्। ‘हिजोको दिनमा कुनै च्यानलमा अन्तरवार्ता दिएर आउँदा मनै गद्गद् हुन्थ्यो । टोल, छिमेकी, ससूराली सबैतिर आफै हल्ला गरिन्थ्यो, उत्साहित हुँदै टिभी अगाडि बसिन्थ्यो, अन्तर्वार्ता हेरिन्थ्यो ।’ अहिले समय फेरिएको, अन्तरवार्ता लागि फोन आउँदा पनि अपराध अनुसन्धान कार्यालयबाट फोन आएको जस्तो लाग्न थालेको उनले बताएका छन् । अचेल कसैले फोन गर्दा फोन नउठाउने गरेको र उठाइहाले पनि बिजी छु भन्ने गरेको बताएका उनले स्टाटसमा लेखेका छन् ।
पढ्नुहोस् दीपकको लामो स्टाटस