आजकलको ट्रेन्ड हेर्ने हो भने नेपाली चलचित्र ३ किसिमको बन्ने गरेको छ । पहिलो, दर्शकलाई मनोरन्जनको नाममा जबर्जस्ति हँसाउन, गिज्ज्याउन र झुक्याउन बनाइने चलचित्र हरु, दोश्रो भर्जिन निर्माता (मुर्गा) को पैसा पचाउन बनाइने चलचित्र हरु अनि तेश्रो चाही केहि नयाँ प्रयोग गरि चलचित्र क्षेत्रमा नयाँ छाप छोड्नेगरि बनाइने चलचित्रहरु । यी मध्ये तेश्रो विधामा पर्ने चलचित्रहरु भने नेपाली चलचित्र उद्योगमा शुन्यप्राय बन्नेगर्छन। यही भीडमा आफ्नो दरिलो उपस्थिति बोकेर हिजोबाट प्रदर्शनी मा आएको छ चलचित्र “जात्रै जात्रा” । यस अघि पनि केही चलचित्रको आलोचना र समीक्षामा कलम चलाएको मैले आज आफुलाई एक समीक्षक बताउने आलोचकको आलोचना पढे, त्यसैले मैले पनि जात्रै जात्राको बिषयमा समिक्षक को आँखा बाट भन्दा पनि एउटा आम दर्शकको आँखा बाट केही लेख्ने जमर्को गरेको छु।
चलचित्र समीक्षा र आलोचना दुइ भिन्न विधा हुन् तर नेपालमा आलोचनात्मक समिक्षा नै बढी प्रचलनमा ल्याइएकोछ, पक्कै पनि जात्रै हेरेर हलबाट निक्लदै गर्दा त्यस्ता आदरणीय समिक्षक ज्युहरुलाई तनाव भएको हुनुपर्छ किनकी जात्रै जात्राले समिक्षकलाइ आलोचनात्मक बन्ने निकै कम अबशर प्रदान गरेको छ ।
३ बर्ष अघि सुपरहिट बन्न सफल चलचित्र जात्रा को सिक्वेल हो जात्रै जात्रा । मह को स्कुलिङ्गबाट खारिएका निर्देशक/लेखक प्रदिप भट्टराइको यो तेश्रो निर्देशकीय प्रश्तुति हो । यस अघि शत्रुगते बनाउदै गर्दा धार फेरेको आरोप खेपेका निर्देशक भट्टराईले जात्रै जात्रा मार्फत दमदार कम्ब्याक गरेका छन । एउटै कथाशैलीलाइ थप निखारेर प्रश्तुत गरिएको जात्रै जात्रा लाइ वयस्क बनाउने काम सदाबहार कलाकार बिपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दयाहाङ राई र बर्षा राउत ले गरेका छन् ।
जात्रा ले बिट मारेकै ठाउबाट जात्रै जात्राले यात्रा शुरु गरेको छ, नक्कली नोट काण्डमा जेल परेका तिन पात्र फणिन्द्र (बिपिन कार्की), जोयेश (रबिन्द्र सिंह बानिया) र मुन्ना (रबिन्द्र झा) सफाई पाएर जेल बाट छुटे संगै आफ्नो गुजारा चलाउन तिनै जना काम को खोजीमा भौतारिनछन् । फणिन्द्र आफ्नो श्रीमती र छोरासंगको पुनर्मिलन को आशमा ट्याक्सी ड्राइभर बन्छ, मुन्ना उही पूरानै नाइँ पेशामा फर्कन्छ, यहि बीच फणिन्द्र ले १० किलो सुन भेट्छ, त्यो सुनलाई पचाउने विषयमै चलचित्र घुमेको छ, यी सबै कथाले लय समात्दै गर्दा दर्शकलाई मुख दुख्ने गरि हसाउने शृंखलाबद्ध अवशर जात्रै जात्रा ले दिएको छ । पूरापूर अर्गानिक हास्यलय पकडेको जात्रै जात्राले एउटै कथासारमा दर्शकलाई भिन्न मनोरंजन प्रदान गरेको छ ।
नेपालमा केहि समिक्षक ले ५ तारा लाइ आफ्नो पेवा ठान्ने गर्छन, चलचित्र समग्रमा हेर्न लायक छ, एक पटक हेर्ने पर्छ भन्छन तर २/३ तारा दिएर आफुलाई ताराको ठेकदार सम्झनछन् । राम्रो लाइ राम्रो र नराम्रोलाई नराम्रो भन्नसक्ने आट समीक्षक मा हुन जरुरीछ, नकि आफ्नो लय नछोड्न जबर्जस्ति आलोचनाको टुक्का गास्न खोज्नु हुन्छ । जात्रै जात्राको हक मा यही प्रसंग लागु भयो, एउटा समीक्षा ले जात्रै जात्राको प्रसंशा गर्न कूनै कसर बाकि राखेनन् तर आफुलाई अब्बल अनि लोभी समीक्षकको दर्जा दिइराख्न जबर्जस्ति आलोचनाको प्रयोग पनि समीक्षा मा गर्न भ्याएकाछन् । जात्रै जात्राको सबै भन्दा महत्वपूर्ण र दरिलो पक्ष भनेको दर्शकलाई चलचित्र सुरु भएदेखिनै बाधेर राख्न सक्नु हो, चलचित्र सुरुभएको २० मिनेटमा त दर्शकलाई पूरापुर चलचित्रको प्रवाहमा डुबाउन सफल छ जात्रै जात्रा, तर समिक्षक ले त्यहि पहिलो २० मिनेटलाई कमजोर शुरुवातको रूपमा चित्रण गरेकाछन, सायद आदरणीय समीक्षक महोदय २० मिनेट ढिला हल प्रवेश गर्नुभयो जस्तो छ ।
सिक्वेल भनेकै पात्र र संरचना दोहोरिने हो, सिक्वेल्को मिठास प्रश्तुतिले निर्धारण गर्छ, जात्रै जात्राको प्रश्तुतिले ३ बर्ष अघिको जात्रालाई बिर्साएको छ, तर पात्र र संरचना दोहोरिनुलाई नै स्किवेल्को बिझाउने पाटो लाग्नु समीक्षकको अपरिपक्कता हो । कथाधार पूरानै भएनी नयाँ माहोल अनुभूत गर्ने मौका जात्रै जात्राले दिएको छ । तर जबर्जस्ति आलोचनाको बिन्दु खोज्ने बहानामा सिक्वेल प्रश्तुतिनै सर्जकका लागि घातक संज्ञा दिनु र आफ्नो समिक्षालाइ सार्थक करार गर्नुमा समिक्षकको विरोधाभाष र द्वैध चरित्र देखाउछ । यदी कूनै निर्देशक निर्माताले आफ्नो अलगधारलाई कायम राख्दै आफ्नो चलचित्रलाई ब्यबसायिक रुपमा पनि बलियो बनाउछ भने त्यो निर्माण पक्ष र समग्र उद्योगका लागि प्रशंसनीय काम हो तर केही समीक्षक महोदयले त यो कदमलाई बजारु नामकरण गरेकाछन्।
समीक्षकको काम दर्शकलाई जस्ताको त्यस्तै जानकारी प्रदान गर्ने हो, तर आफ्नो आलोचनात्मक शैली जोगाउने नाममा दर्शकलाई भ्रममा पार्नु अपराध हो । आम दर्शकलाई जात्रै जात्रा नेपालि चलचित्र इतिहासकै अब्बल चलचित्र मध्येको एक लाग्ने निश्चित छ । अब नेपालमा पनि अर्गानिक कथामा बनेका स्तरीय चलचित्र हेर्न पाइन्छ भन्ने आशाको रुपमा जात्र सिक्वेल आएको छ ।
न त अपाच्य र छाडा हास्य सम्बाद, न त कानै थुन्नुपर्ने द्वेदार्थी शब्द, जे छ सबै अर्गानिक छन्, पाच्य छन् अनि यसमै दर्शकले २ घण्टा काटेको थाहा पाउदैनन । जात्रै जात्रा साच्चै फरक छ, दर्शकलाई हलमा हसाएर तताउने जात्रै जात्राले जबर्जस्ति आलोचना गर्न खोज्ने समिक्षकलाइ भने आच्छु आच्छु परेको छ ।
राम भट्टराई