कोरोना भाइरस महामारीका कारण सिनेमा हल ९ महिना बन्द भए । ९ महिना बन्द भएर पुष १० गतेबाट खुलेका सिनेमा हलमा डेढ महिना अघि माघ १ गते अभिनेता शिव श्रेष्ठ अभिनीत तथा निर्मित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आयो । तर चलचित्रले दर्शक तान्न भने सकेनन् । लकडाउन हटेपछि पछि नेपाली चलचित्र क्षेत्र चलायमान हुन निकै गाह्रो भएको कारण प्रदर्शनको तयारीमा रहेका चलचित्रको प्रदर्शन मिति पोस्टपोन्ड भैरहेको अवस्थामा शुक्रवारबाट डेढ महिनापछि तीन वर्ष अगाडि नै निर्माण भएको चलचित्र ‘गोर्खे’ देशभर प्रदर्शनमा आएको छ । विना प्रचार प्रदर्शनमा आएका कारण यो चलचित्रको बारेमा धेरै कम दर्शक जानकार छन् । प्रचार निकै कम भएकाले पनि चलचित्र ‘गोर्खे’ले दर्शक हलसम्म तान्न सक्ने सम्भावना कति बोकेको छ त्यो भने हेर्न बाँकी नै छ । नयाँ चलचित्र नहुँदा हल सञ्चालकहरू पुराना चलचित्र चलाउन बाध्य भएका थिए । जसले गर्दा हलमा दर्शकको उपस्थिति पनि उत्साहजनक छैन ।
‘गोर्खे’ लाई सन्तोष ढकालले निर्देशन गरेका हुन् । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु/हरि थापाको निर्माण रहेको चलचित्रले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा उठाएको छ । चलचित्रमा रविन्द्रसँगै अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।