नायिका सुरक्षा पन्तले आफू अभिनित छोटो सिनेमा हिन्दी सिनेमाको हुबहु कपी भएको भन्दै दुःख व्यक्त गरेकी छिन्। उनी लेख्छिन्: हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा, कुनै हिन्दी छोटो फिल्मको हुबहु कपी रहेको कुरा थाहा पाएपछि मलाई धेरै दुख लागेको छ। पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला। कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाहीँ मन खुम्चिन पुग्छ। व्यक्तिगत रूपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर विरोधी हु म ।त्यसैले अनविज्ञ भई यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु। तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न।
उनले अन्तिममा लेखेकी छिन्–‘टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट नै थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । यसैले, कलाकारहरु एकदमै इमान्दार हुन जरुरी छ ।’ उनले भनेको छोटो सिनेमा भनेको हो,’मनको बार’ जुन युट्युबमा केही महिना अघि सार्वजनिक भएको थियो र त्यो हिन्दी छोटो सिनेमा ‘नामर्द’को हुबहु कपी रहेछ ।