३ वर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको बिहिबारदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारको लागि सहयोग पनि जुट्ने क्रम बढिरहेको छ । शनिवार अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले निशा बस्दै आएको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरे । करिश्माले २५ हजार र रेजिनाले १० हजार सहयोग गरेका हुन् । अमेरिकामा बस्दै आएकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार पनि हस्तान्तरण गरिएको छ । त्यस्तै उनलाई शनिवार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग स्वरुप ५१ हजार प्रदान गर्ने निर्णय गरेको थियो ।
घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो । तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उपचार हुन सकेन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो । उनै, निशाको सामाजिक संजालमा तस्वीहरु सार्वजनिक हुन थालेपछि नर्भिक अस्पतालमा उपचार सुरु गरिएको हो । भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।