सन्दर्भ: असोज १ | राष्ट्रिय चलचित्र दिवस |
नेपाली भाषाको ‘हरिश्चन्द्र’ को निर्माणको समय हेर्दा बि. स. २००७ साल असोज ७ गतेका दिन भारतको कोलकाता स्थित टालिगञ्जमा चलचित्रको शुभमुहूर्त भएको थियो भने बि. सं. २००८ भदौ ३० गतेका दिन चलचित्र निर्माण सम्पन्न भई प्रथम प्रदर्शन पनि कलकत्ताको जनता सिनेमा हलमा गरिएको थियो । यस सँगै नेपालमा भने यस चलचित्रको रिलिज वि. सं २००८ मा काठमाडौं स्थित नारायणहिटी दरवारमा भएको थियो ।
२२ असोज २००७ मा छायांकन शुरु भएको ‘सत्य हरिश्चन्द्र’ इस्टर्न टकिजमा खिचिँदै छ भन्ने खबर सुनेर सपरिवार कोलकाता पुगेका साहित्यकार बालकृष्ण समले सिनेमाको टोलीसँग एउटा फोटो खिचाएका थिए । उनले २०३८ सालमा साझा प्रकाशनद्वारा प्रकाशित ‘चलचित्रकला’ पुस्तकमा ‘सत्य हरिश्चन्द्र्’ को एक दृश्यमा छायांकारले भूलवश परपर रेल गुडिरहेको दृश्य कैद गरेको कुरा पनि उल्लेख गरेका छन् ।
‘सत्य हरिश्चन्द्र’ को सुटिङ कलकत्ता तथा आसपासका क्षेत्रहरुमा भएको देखिन्छ । यसका मुख्य कलाकारहरू- प्रेम नजिर, कान्ता, शीलादेवी, बलबहादुर परियार, दिलुसिंह क्षेत्री, डीबी परियार, तीलकशंकर, सागरदत्त कोइराला, रोजमेरी आदि थिए। यस ऐतिहासिक महत्व बोकेको चलचित्रमा हरिश्चन्द्रको भूमिका निर्वाह गर्ने नायक कलाकार मुसलमान धर्मावलम्बी व्यक्ति‘नजिर’ थिए। पछि उनको नामको अगाडि‘प्रेम’ थपेर प्रेम नजिर बनाइएको थियो।
नायिका अर्थात् तारमतीको भूमिका गर्ने अभिनेत्रीको वास्तविक नाम कान्ता नभई‘पासाङ ल्हामू’ थियो र उनी तिब्बती मूलकी बौद्धमार्गी भएको देखिन्छ भने अर्की नायिका शीलादेवीले चलचित्रमा अप्सरा मेनकाको भूमिका निर्वाह गरेकी छन् भने बलबहादुर परियार ऋषि विश्वामित्र बनेका छन्। दिलुसिंह क्षेत्री र डीबी परियार ऋषि विश्वामित्रका दुई चेलाको भूमिकामा छन्, अनि बालकलाकार तिलक शंकर रोहितको भूमिकामा रहेको छ्न् ।
‘हरिश्चन्द्र’मा चारवटा गीत र नृत्यहरू पनि राखिएको छ। नेपाली भाषाको बिकास नभईसकेकोले होला चलचित्रको संवादमा हिन्दी, उर्दु र बंगाली भाषाका प्रशस्त शब्दहरूको प्रयोग भएको देखिन्छ । चलचित्रको क्रेडिट कास्टिङमा गीतकार र संवाद लेखक भनी डीबी परियारको नाम दिइएको पाइन्छ।
चलचित्र ‘हरिश्चन्द्र’ को लम्बाइ १३ रिल छ र हाल उपलब्ध १६ एमएमको श्वेतश्याम प्रिन्ट हेर्दा लगभग एक घन्टा ४५ मिनेटको समय खर्च गर्नुपर्ने हुन्छ। यसको पहिलो दृश्य कलकत्ताको कुनै राजप्रासादबाट सुरु भएको भान हुन्छ भने राजप्रासादका विभिन्न भाग, खोपी, करिडोर आदिको सेट लगाइएको हो कि झैं लाग्छ। त्यस्तै भेषभूषा, आभूषण, कलाकारको सिँगारपटार हेर्दा त्यस बेलाको स्थितिमा पनि निर्माणमा निकै पैसा खर्च गरिएको देखिन्छ।
चलचित्रको निर्माण गर्दा कुल भारु एक लाख तीस हजार खर्च भएको थियो भन्ने निर्माण पक्षको भनाइ छ। धार्मिक चलचित्र भएको हुँदा प्राचीन राजप्रासादको सेट लगाउन, भेषभूषा, सिँगारपटारको खर्च, अन्य प्रप्स (धनुषवाण, तरबार, खडाउ, जटाजुट, दाह्री-कपालको विग, आभूषण वा गरगहना इत्यादि) मा हुने खर्चहरूले गर्दा बजेट बढेको अड्कल काट्न सकिन्छ। नेपाली चलचित्र क्षेत्रका एकथरी वरिष्ठ व्यक्तिहरूका अनुसार तत्कालीन युवराज श्री ५ महेन्द्रविक्रम शाहले पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र’ निर्माण गर्न भारु ५१ हजार रुपैयाँ सहयोग गरेका थिए तर यस कुराको पुष्टि कतैबाट हालसम्म भएको छैन।
‘हरिश्चन्द्रको एउटा प्रिन्ट नारायणहिटी दरबारमा रहेको र त्यसलाई संस्थानको अर्काइभमा फर्काउन पहल भइरहेको जानकारी पनि केही समय पहिले कतै प्रकाशित भएको देखिए पनि ‘हरिश्चन्द्र’ को त्यो प्रिन्ट अहिले कुन अवस्थामा छ थाहा पाउन सकिएको छैन।
तस्विर:इस्टर्न टकिज स्टुडियो कोलकातामा चलचित्र ‘सत्य हरिश्चन्द्र’ को छायांकन हेर्न सपरिवार कलकत्ता पुगेका स्वर्गीय साहित्यकार बालकृष्ण सम (मध्य), सबैभन्दा बायाँमा बसेका सिनेमाका लेखक तथा निर्देशक डीबी परियार (देवबहादुर परियार)
स्रोत: तस्वीरमा नेपाल