अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘चिसो मान्छे’ ले प्रदर्शन मिति घोषणा गरेको छ । फिल्मले आउँदो वर्षको बैशाख ३० गतेलाई प्रदर्शन मिति रोजेको हो । यो चलचित्र गत वर्षको भदौमै प्रदर्शनमा आउने तयारीमा थियो तर, कोरोनाका कारण प्रदर्शन हुन सकेन ।
शनिवार निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको थिम पोस्टर सार्वजनिक गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा मृत्य भएर बाकसमा फर्किएकाहरुको कथा फिल्मले वाचन गर्ने पोस्टरमार्फत् प्रस्ट्याउन खोजिएको छ ।
चलचित्रले मानिसहरुमा देखिएको नैराश्यताको कथा भन्नेछ । चलचित्रको छायांकन सुदूरपश्चिमका विभिन्न भेगमा भएको हो ।
‘आमा’ निर्मात्री शर्मिला पाण्डेको एकल लगानीमा निर्माण भएको चलचित्रमा ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको निर्देशन रहेको छ चलचित्रको कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के. खनाल आफैंको हो । उनले आफूले सोचेको जस्तै चलचित्र बनेको बताएका छन् ।
चलचित्रमा अभिनेता अर्पण थापा पनि मुख्य भूमिकामा छन् । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
‘चिसो मान्छे’मा स्वस्तिमा खड्काले १८ लाख पारिश्रमिक वुझेकी छिन् । यो संगै, महंगो पारिश्रमिक बुझ्ने अभिनेत्रीको सूचीमा स्वस्तिमा खड्का पनि थपिएकी हुन् । यो टिमसँग स्वस्तिमाले चलचित्र ‘लभ लभ लभ’मा काम गरेकी थिइन् । चलचित्रमा स्वस्तिमाको भूमिका शक्तिशाली रहेको बुझिएको छ । ‘चिसो मान्छे’ पछि दीपेन्द्रकै निर्देशन र शर्मिलाको लगानीमा ‘लकडाउन’ निर्माण गरिने भएको छ ।