सुरविना कार्कीलाई चलचित्र ‘काँडेतार’ले राहत देला त?

नायिका सुरविना कार्की चलचित्र ‘काँडेतार’मा अनुबन्धित भएकी छिन् ।

लामो समयको प्रतिक्षापछि सुरविनाको हातमा नयाँ चलचित्र परेको हो । उनको पछिल्लो रिलिज चलचित्र ‘लुकामारी’ हो ।

सुरविना लामो समयदेखि सफलताको खोजीमा छिन् । बोल्ड नायिकाको छवि बनाएकी सुरविनाले चलचित्र ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । उनले त्यसपछि आधा दर्जन चलचित्रमा अभिनय गरिन् तर उनको करिअरले सफलता पाउन सकेको छैन ।

उनी बलिउडमा प्रवेश गर्न तीन वर्ष भारत समेत बसिन् । तर, बलिउडमा काम गर्ने उनको सपना पूरा हुन सकेन। उनले बलिउड कलाकार अनुपम खेरसँग ३ महिनाको अभिनय कोर्ष सिकेकी थिइन्।

कोरोना महामारी सुरु भएयता उनी नेपालमै छिन् । पहिलो लकडाउनमा अभिनय गरेको ‘के माया लाग्छ र ?’ गीतले उनलाई एकाएक चर्चामा ल्याएको थियो । यो गीतबाट उनी अझ दर्शकमाझ चिनिएकी छन् । नेपाली चलचित्र क्षेत्रमा आफुले सोचेजस्तो सफलता हात पार्न नसकेकी सुरविनालाई चलचित्र ‘काँडेतार’ले राहत देला कि नदेला त्यो भने पर्खाईको विषय बनेको छ ।

नवल खड्काले निर्देशन र निर्माण गर्ने ‘काँडेतार’ मा आफू आबद्ध हुन पाएकोमा सुरविनाले खुसी व्यक्त गरेकी छन् । यो चलचित्रमा नायक गौरव पहारी र नायिका रेविका गुरुङ अनुबन्ध भइसकेका छन् । चलचित्रमा रेविकाको जोडी गौरव पहारीसँग बाँधिनेछ । तिहारपछि छायांकनमा निस्कने यस चलचित्रमा निर्देशक खड्का स्वयंले पनि अभिनय गर्नेछन् ।

चलचित्रमा रविन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की महेश गिरी लगायतको पनि अभिनय रहने छ ।

नेपाल-भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय चलचित्रले उठाउनेछ । दुई मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने चलचित्रको भाव हो । चलचित्रले राष्ट्रलाई पनि झकझकाउने छ । नेपाल र भारत सीमामा खिचिने यस चलचित्रलाई नवल र शंकर कार्कीले मिलेर निर्देशन गर्नेछन् । नवलले यसअघि पनि राष्ट्रियताको विषयमा ‘आवाज, दशगजा’ जस्ता चलचित्र बनाएका छन् ।

Leave a Reply