बलिउड चलचित्र ‘उचाइँ’को नेपालमा गरिने छायांकन सकिएको छ । सुरज बाडजात्याले निर्देशन रहेको यस चलचित्रको दोस्रो चरणको सम्पूर्ण छायांकन भारतमा मात्र हुनेछ । निर्देशक बडजात्या ४० दिनको छायाँकन सेड्युलसहित नेपाल आएका थिए । तर, मौसमले राम्रो साथ दिएकोले २५ दिनमै चलचित्रको नेपाल छायांकन सम्पन्न भएको छ ।
चलचित्रको छायांकनका लागि भारतीय कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका हसन लगायत नेपाल आएका थिए । चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय रहेको छ । तर, उनी भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । नेपालमा उनको भागको छायांकनका लागि डुब्लिकेटको प्रयोग गरिएको थियो ।
बुधवार मनाङमा चलचित्रको पहिलो चरणको छायांकन पूरा गरेर कलाकार र प्राविधिकको टोली शुक्रवार काठमाडौं फर्किएको छ । भारतबाट कलाकारसहित १२५ जनाको टोली लिएर निर्देशक बडजात्या नेपाल आएका थिए भने ३५० जनाको ‘क्रू’ नेपालबाट थपिएको थियो । भारतबाट आएको टिम शनिवार स्वदेश फर्किएको छ ।
राजश्री प्रोडक्सनले निर्माण गरेको यो चलचित्रको सुटिङ ४ अक्टोबरबाट सुरु भएको थियो । नेपालमा २५ दिनको छायांकनमा दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा भएको छ । खोटाङको नाम्चेदेखि लुक्ला,बेसीसहर र विभिन्न ठाउँ छायाँकन भएको चलचित्रले मित्रताको कथा भन्ने छ ।
चलचित्रमा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु लगायतको पनि अभिनय छ । चलचित्रको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ ।
नेपाल आइपुगेदेखि नै अनुपम खेर, बोमन इरानी र परिणीति चोपडाले सामाजिक सञ्जालको माध्यमबाट नेपालको प्राकृति सौन्दर्यताको खुलेर प्रशंसा गर्दै आएका छन् । अनुपमले त पशुपतिनाथमा दर्शन गरेपछि हिन्दूहरुको धार्मिक स्थलमा आउन पाउँदा खुसी लागेको बताएका थिए ।