तिहारमा रिलिज भएको रोहित निर्देशित बलिउड चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिस चलायमान बनाएको छ । यो चलचित्रसँगै रोहित नयाँ चलचित्रको निर्देशनमा व्यस्त हुनेछन् ।
उनले आफैं निर्देशित सुपरहिट चलचित्र ‘सिंघम’ को तेस्रो सिरिज बनाउन लागेका हुन् ।‘सूर्यवंशी’मा रोहितले ‘सिंघम ३’ बन्न लागेको जानकारी दिएका थिए । यो चलचित्रले भारत र पाकिस्तानको सिमानाको कथा भन्नेछ । यो चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र सन् २०२२ को स्वतन्त्रता दिवसमा रिलिज हुनेछ ।
‘सूर्यवंशी’ मा अजय देवगन र रणवीर सिंह केमियो भूमिकामा देखिएका थिए । अब रोहितले ‘सिंघम ३’ मा अक्षय कुमार र रणवीर सिंहलाई केमियो भूमिकामा प्रस्तुत गर्ने भएका छन् । यो चलचित्रमा केमियो भूमिकामा देखिन दुवै स्टार तयार भएको भारतीय मिडियाले बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार यो चलचित्रको क्लाइमेक्समा अक्षय र रणवीरलाई दर्शकले हेर्न पाउनेछन् । दर्शकले चलचित्र ‘सूर्यवंशी’को क्लाइमेक्समा रणवीर र अजयको एक्सन हेर्न पाएका थिए ।
रोहित शेट्टीले यसअघि रणवीरलाई लिएर चलचित्र ‘सिम्बा’ बनाएका थिए, जुन ब्लकबस्टर भएको थियो ।
‘सूर्यवंशी’मा सुपरस्टार अक्षय कुमारको खतरनाक एक्सन र अभिनयलाई दर्शकले निकै मन पराएका छन् । यो चलचित्रमा नायिका कट्रिना कैैफको पनि मुख्य भूमिका रहेको छ । चलचित्र ‘सूर्यवंशी’ले दर्शकलाई हलसम्म फर्काएको छ । यो चलचित्रले भारतका मात्र होइन, नेपालका दर्शकलाई पनि हलमा फर्काएको छ ।