बलिउड गायक कुमार सानु नेपाल आउँदै,मंसिर ४ मा जनकपुरमा प्रस्तुती दिने

भारतका चर्चित गायक कुमार सानु पुनः एकपटक आफ्नो प्रस्तुती दिन नेपाल आउने भएका छन् । आउँदो मंंसिर ४ (नोभेम्बर २०) गते जनकपुरधाममा आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । जनकपुरको होटल राज दरवारमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित भारतीय गीत नेपाली दर्शकलाई सुनाउनेछन् ।

नेपालको जनकपुरधाममा आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ कार्यक्रम प्राविधिक कारणले मंसिर ४ मा सरेको हो । यसअघि कार्तिक २७ गतेलाई यो कार्यक्रम तय गरिएको थियो ।

९० को दशकका लोकप्रिय भारतीय गायक सानुले दुई दर्जन बढी नेपाली गीतमा समेत आवाज भरेका छन् । उक्त कन्सर्टमा उनले नेपाली गीत पनि गाउने आयोजक संस्था ब्लूबर्डले जानकारी दिएको छ । उनको आवाजमा रहेका ‘भरे आउँछु सपनीमा, फूल भए जिन्दगी, म त अब रिसाउँछु, साचिरहँ जस्तो लाग्छ, मनको मन्दिर, जनम जनमको, म त आएँ, यसपालीको बसन्तमा’ लगायतका नेपाली गीत निकै लोकप्रिय छन् ।

कन्सर्टमा नेपालका चर्चित गायक सुगम पोखरेल, रोशन पराजुली र कलाकार पूजा ठाकुरले पनि प्रस्तुती दिनेछन् । कार्यक्रमको होस्ट सुशील नेपालले गर्नेछन् । दिउँसोको साढे ४ बजेबाट सुरु हुने कन्सर्टमा सहभागी हुनका लागि ४५ सय र ३ हजारको टिकट दर तय गरिएको छ । उक्त कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख अतिथीको रुपमा उपस्थिति हुनेछन् ।

‘कुमार सानु लाइभ इन कन्सर्ट’ ले जनकपुरस्थित धार्मिक तथा प्रदेश नं. २ को पर्यटक प्रवद्र्धनमा सघाउ पुर्‍याउने आयोजक ब्लूबर्ड इन्टरटेन्मेन्ट र सह आयोजक जनकपुर उद्योग वाणिज्य संघको विश्वास छ । एक भिडियो सन्देशमार्फत् गायक सानुले आफू जनकपुरधाममा आउन लागेको बताएको छ । उनी यसघि पनि केही पटक सांगीतिक प्रस्तुतीका लागि नेपाल आइसकेका छन् ।

Leave a Reply