‘कबड्डी-४’को आधा छायांकन सकियो,प्रदर्शन मिति घोषणा गर्ने पनि तयारी

रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल चलचित्र ‘कबड्डी ४’को ५० प्रतिशत छायांकन पूरा भइसकेको बताईएको छ ।

अहिले यो चलचित्रको मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ । चलचित्रको सेटबाट निर्माण टिमले एक तस्विर सार्वजनिक गरेको छ, जसमा दयाहाङ राई, बुद्धि तामाङ र विजय बराल देखिएका छन् । चलचित्रको छायांकन कोवाङ र लार्जुङमा भइरहेको निर्माणपक्षले बताएको छ ।

यस चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने पनि तयारी गरिएको छ । अबको १५ दिनमा छायांकन सकेर काठमाडौं फर्किएपछि चलचित्रको प्रदर्शन मिति घोषणा गरिने बताईएकोछ । चलचित्रलाई आउँदो चैत वा बैशाखमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको पनि बताईएको छ ।

मणिराम पोखरेल निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ । गौमायाले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । यसपटक चलचित्रमा ‘मैयाँ’ को भूमिकामा मिरुना मगर देखिनेछिन् ।

‘द फाइनल म्याच’ उप-शिर्षक राखिएको चलचित्रलाई ‘कबड्डी’ को अन्तिम भाग भनिएको छ । ‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए ।

दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्ल भित्रिए । तेस्रो पार्टमा विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए । अब फाइनल म्याचमा ‘कबड्डी’ को कथामा जोडिएका सबै प्रमुख पात्रहरु दोहोरिने निर्माण टिमले बताएको छ ।

बासुुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियारको लगानी रहनेछ । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन, कालिप्रसाद बाँस्कोटाको संगीत रहनेछ । चलचित्रको कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् ।

Leave a Reply